काठमाडौं । नेपालका कराँते खेलाडी पर्शुराम बाँस्तोलाले चेक रिपब्किकमा आयोजना भएको सातौँ अन्तर्रा्ष्ट्रिय कराँते लायन्स कपमा स्वर्ण पदक जितेका छन् । पर्शुरामले ३४ देखि ४५ वर्ष उमेर समूहको मास्टर्स एकल पुरुष कातामा चेक रिपब्लिकका खेलाडीलाई ५–० ले हराएर स्वर्ण जितेका हुन् । त्यसअघि उनले पहिलो चरणमा अष्ट्रिया, क्वाटर र सेमिफाइनलमा चेक रिपब्लिकका खेलाडीलाई हराएका थिए ।
यस्तै पर्शुरामले व्यक्तिगत सिनियर पुरुषको एकल कातामा रजत जिते । फाइनलमा चेक रिपब्लिकका खेलाडीसंग ३–२ ले पराजित भए । नेपालका अन्य ३ खेलाडीले पनि रजत जितेका छन् । यू–२१ को ६० केजीमुनि पुरुष कुमुतेमा दोर्जे लामा फाइनलमा घरेलु टोलीका खेलाडीसँग पराजित हुँदै रजत जिते । यू–२१ को ६७ केजी सिनियर पुरुष कुमुतेमा रोहित बुढाथोकीले रजत हात पारे । फाइनलमा रोहित घरेलु टोलीका खेलाडीसँग नै पराजित भए ।
त्यस्तै ७५ केजी मुनि सिनियर पुरुष कुमुतेमा शुसिल पौडेलले फाइनलमा घरेलु टोलीसंग हार व्यहोर्दा रजतमा चित्त बुझाए । प्रतियोगितामा नेपालले पाँचौँ स्थान हासिल गर्यो । प्रतियोगितामा १८ राष्ट्र र ६२ क्लबका करिब १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया