घट्टले चलाएको जीवन

 

कालिकोट । पिठोले ढाकिएको टाउको र अनुहार देख्दै डरलाग्दो देखिने बिर्ख खरले छाएको छाप्रोमा घट्टको रेखदेख गरिरहेका भेटिन्छन् । एसएलसी उत्तीर्णपश्चात जागिरको खोजीमा भारतको मुम्बइ पुगेका थिए । उता केही नहुने देखेपछि उनी यहाँ आएर घट्ट चलाएर दिन बिताउन थालेका छन् ।

एक हातमा लठ्ठी, अर्को हातमा कुचो लिएर पथ्थर नजिकै बसेर पिठोको धार फाल्दै थिए २२ वर्षीय बिर्ख विक । नरहरिनाथ गाउँपालिका–७ खुलालु खोलामा उनको ६ वर्षयताका दिन घट्ट चलाएर दिन बित्ने गरेका छन् ।  ‘एक महिनाको ३० हजार जतिको पिठो उठाउँछु घर खर्च चलेकै छ,’ उनले भने, ‘१ छोरा १ छोरी र बुढा आमाबुबालाई घट्टले नै पालेको छ । यो दुर्गम ठाउँमा यति तलबको जागिर मिहिनेति र भाग्यमानीले मात्र पाउँछ ।’ खुलालु खोलाको रुप्सा पाउनी वनदेखि खुलालुसम्म पाइलै पिच्छे भेटिन्छन् घट्टालाहरू । किशोरदेखि वृद्धवृद्धा उमेर समूहका घट्ट हेरालामा व्यस्त देखिन्छन् । यो खोलामा झन्डै डेढ सयको हाराहारीमा खोलामा घट्ट छन् भने त्यति नै घट्ट हेराला देखिन्छन् ।

‘घट्ट हेर्न सजिलो भने छैन । न दिनमा सुत्न पाइन्छ न त रातमा’, बिकले भने, ‘एक छिन घट्ट छोडेर बाहिर जाने हो भने, पिठो बिग्ररिन्छ र गाली पाइन्छ, सरसफाइ कहिल्यै गर्न पाइँदैन । अरूलाई देख्दा नयाँ लुगा लगाएर चिटिक्क परेको देख्दा आपूmलाई पनि सफा हुन त मन लाग्छ तर आप्mनो शरीरमा सेतो पिठोे पोतिएको हुन्छ’, बिर्खले आफ्नोे दुःख सुनाए ।

रातदिन नसुति घट्ट चलाउन दुःख भए पनि कमाइ आकर्षक भएर पेसा अँगालेको खुलालुमा भेटिएका १८ वर्षीय रनबहादुर विष्टले बताए । ‘बिदाका वेला साथीहरूसँग खोलाका घट्ट हेर्न रहर लाग्यो अनी घट्ट चलाउन पनि सिकेँ,’ उनले भने, ‘जस्तोसुकै रहर भए पनि दैनिक रूपमा काम गर्न कम्ती दुःख छैन ।’ परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेर यो पेसा अँगाल्न बाध्य बनेको उनले बताए । बिहान सबेरै उठ्नु, घट्टको पथ्थर खुड्छु, घट्ट सफा गर्छु अनि पदालोमा पानी छोड्छु र नियमित काममा लाग्छु यति मात्र होइन समयमा खानखान पाइँदैन, जहिलै चिसो खाना खानुपर्छ ।

मासिक २० हजारदेखि ३० हजारसम्म तलब आउने भएकाले यस्तो पेसा अँगालेको उनीहरू बताउँछन् । ‘घट्ट हेर्न थालेपछि अल्छी गरेर भएन, घामपानी नभनी कुर्न प¥यो, रुप्साका ५६ वर्षीय मुनबहादुर सहकारीले भने, ‘घट्ट चलाउन निकै दुःख छ, दुःख धेरै गर्नुपर्छ । दुःख गरेरै दुई छोरा र एक छोरी पालेको छु, अरू केही आयस्रोत छैन, पुर्खाैंदेखि बुबाबाजेले घट्टै चलाएर हामीलाई पाले ताले हुर्काए अहिले मैले पनि यसरी जीविका चलाएको छु ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया