राष्ट्रिय वाणिज्य संघ र राष्ट्रिय उद्योग व्यापार सङ्गठनबीच एकता

बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासंघ जिल्ला शाखाको घोषणा गरिएको छ । महासंघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभेच्छुक सङ्गठन हो ।

एकताअघि संघमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासंघको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन । जिल्लास्तरमा एकता गर्ने बागलुङ पहिलो जिल्ला बनेको छ । एकतापछि ४५ सदस्यीय महासङ्घको जिल्ला समिति गठन भएको छ ।

समितिको अध्यक्षमा रतन मलेपति चयन भएका छन् । उपाध्यक्षमा दुर्गाबहादुर पुन, सचिवमा प्रकाश चालिसे, सहसचिव नारायण आचार्य, कोषाध्यक्षमा राजु गौतम र सहकोषाध्यक्षमा मनोज थापा छन् । एकता भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

पदाधिकारीलगायत सदस्यलाई महासंघ गण्डकी प्रदेशका संयोजक प्रेम पौडेलले शपथ ग्रहण गराएका थिए । शपथपछि बोल्दै अध्यक्ष मलेपतिले व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बागलुङको व्यवसाय प्रवद्र्धनमा महासंघले अर्थपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्रतिक्रिया