काठमाडौं । नेपाली दुई तेक्वान्दो खेलाडीले दोस्रो इन्डिया ओपन इन्टरनेसनल जी १ पदक जितेका छन् । भुपेन श्रेष्ठले स्वर्ण र कल्पना चौधरीले रजत पदक जितेका हुन् ।
भारतको हैदरावादमा भएको च्याम्पियन्सिपमा भुपेनले ८७ केजी र कल्पनाले ४९ केजीमा पदक जितेको प्रशिक्षक दीपक विष्टले जानकारी दिए । पदक विजेता दुवै खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् ।
गत महिना प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका भुपनेले ३ जना भारतीय खेलाडीलाई जितेपछि सेमिफाइनल यात्रा तय गरेका थिए ।
सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई हराएका भुपेनले फाइनलमा पनि भारतीय खेलाडीलाई नै पराजित गरेका थिए । कल्पना भने फाइनलमा भारतीय खेलाडीसँग पराजित भइकी थिइन् ।
विश्व तेक्वान्दो महासंघले मान्यता दिएको च्याम्पियनसिप जी १ मा पदक जित्नु सुखद नतिजा भएको प्रशिक्षक विष्टले बताए । शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालका ८ खेलाडीले भाग लिएका थिए । सोही प्रतियोगितमा विष्टले भने च्याम्पियनसिपको सुपरभिजरी बोर्डको अध्यक्षता गरेका थिए ।
प्रतिक्रिया