नेपाल ‘निलो’ विजयी

काठमाडौं । ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको मैत्रीपूर्ण खेलमा नेपाल निलो विजयी भएको छ । नेपाल निलोले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका इमबहादुर रानाको कप्तानीमा उत्रिएको नेपाल रातोलाई २–१ को सेटमा पराजित गरेको हो ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद विकास केन्द्रको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपाल निलोले २५–२३ ले जितेको थियो । दोस्रो सेट नेपाल रातोले २५–२१ ले आफ्नो पक्षमा पारेपछि खेल १–१ को सेटमा पुगेको थियो । निर्णायक सेट नेपाल निलोे १५–१३ ले आफ्नो पक्षमा पार्दै मैत्रीपुर्ण खेल जितेको हो ।

नेपाल भलिबल संघले साउन ३२ देखि भदौ ८ सम्म नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा रहेका २५ सदस्यीय टोलीलाई दुई समूहमा विभाजन गरेर मैत्रीपूर्ण खेल खेलाएको हो ।

नेपाल रातोमा कप्तान इम राना, दीपक राज जोशी, राजु शेरचन, विशाल विक, धन बहादुर भट्ट क्षेत्री, भैरव बम, इश्वर थापा, शरण सामरी क्षेत्री, हरि अधिकारी, राज कुमार निरौला, सुजन चोखाल योकेन्द्र गुरुङ र भीम गाहा मगर रहेका थिए ।

नेपाल निलोमा कप्तान कुल बहादुर थापा, द्वारिका थापा, रविन चन्द, हरि हजुर थापा, नरेन्द्र गिरी, दुर्गा महतो, राजेन्द विष्ट, दुर्गा बहादुर खड्का, विनोद चन्द, टेकराज अवस्थी, सुरेन्द्र बम र दुर्गा सुनार रहेका थिए ।

सेन्ट्रल जोनका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ । असार ५ गतेदेखि नेपाली टोलीलाई डच प्रशिक्षक हान एबीङले प्रशिक्षण दिनेछन् । नेपाल भलिबल संघले नेदरल्यान्ड भलिबल संघ र एफआइभीबीसँगको सहकार्यमा निकै नै अनुभवी र २५ वर्षे लामो भलिबल प्रशिक्षण गरेका ५८ वर्षीय एबीङलाई ३ महिनाको लागि अनुबन्ध गरेको छ । उनी ४ असारमा नेपाल आइपुग्ने तालिका छ । आधुनिक ओलम्पिक सुरु भएको २३ जुनलाई आधार मानेर आज शनिबादेखि एक सातासम्म देश भर नै ओलम्पिक डे सुरु भएको छ । यसको समापन २३ जुनमा हुनेछ ।

प्रतिक्रिया