‘म अघि बढ्छु’ अभियानको तयारी

झापा । प्रदेश–१ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान्, सिर्जनशील, सकारात्मक एवं सामाजिक रूपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान सुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका २ हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश–ं१ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालु आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रूपमा सुरु हुने बताए । उनले दुव्र्यसनमुक्त, नैतिकवान् र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालु आर्थिक वर्षबाटै कार्यक्रम सुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागु गरेको जानकारी दिए ।

अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ ।

प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छ ।

हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने आशा गरिएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रदेश सरकारले लागू गरेको सगरमाथा टिन्स क्लब (एसटीएस) सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम जिल्लाका १५ वटै तह र सबै माध्यमिक विद्यालयमा ‘म अघि बढ्छु’ अभियान लैजाने तयारी भइरहेको जानकारी दिए । आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीको उपस्थिति र प्रजिअ दाहालको अध्यक्षतामा शुक्रबार झापा जिल्ला प्रशासन कार्यालयमा अभियानको जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारद्वारा नियुक्त कार्यक्रम संयोजक नवराज राईले विद्यालयमा गठन हुने हरेक क्लबलाई बीउ पूँजीको रुपमा प्रदेश सरकारले बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रदेश सरकारले ल्याउन लागेको ‘म अघि बढ्छु’ अभियान अत्यन्त राम्रो भएको बताए ।

प्रतिक्रिया