काठमाडौं । ‘हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?’ एक प्रहरीको फोन आयो । ‘हजुर बोल्दै छु’, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।’ ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसंग भए । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासी भेट्न आउनुस् भनेर फोन आउँछ । उनी अच्चममा परे । ‘आ होइन होला ! कसैले झुक्याउन फोन ग¥या होला’, राजकुमारको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो । विषय बुझ्ने उनको छटपटी रोकिएन । साथीभाइलाई फोन गरेर सोधे । आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोधे । त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको उनलाई पक्का भयो । फोन चाहिँ किन आयो त ? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै उनी महाशाखा पुगे ।
‘ल तपाईंले लेन मिच्नुभएको छ’, अभिलेख हेरेर प्रहरीले भने, ‘मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छे’, उनले प्रतिवाद गरे । ‘एक्कै छिन् पक्नुस् है’, सिसी टिभीको श्रव्यदृष्य खोल्दै खोजतलास तथा सिसीटिभी कारवाही शाखाका एक जना प्रहरीले भने । अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृष्यबाट प्रष्ट देखियो । त्यसपछि उनी मलिन अनुहारमा रसिद लिएर ट्राफिक कक्षा लिनतिर लागे । महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सिसीटिभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ ।
शुक्रबार उक्त शाखामा यसैगरी बोलाइएका मानिसको भीड थियो । सामान हराएर खोजतलासका लागि आएकासमेत थपिँदा दुई प्रहरीलाई काममा दबाब परेको देखिन्थ्यो । जनशक्ति र प्रविधिको अभावका बीच नै प्रहरीले यसरी प्रविधिमार्फत ट्राफिक नियम उल्लंघनविरुद्ध कारवाही अभियान तीव्र पारेको छ ।
पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारवाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन । हरेक व्यक्तिको सडकमै अभिलेख रहनेगरी अनुगमन भइरहेकाले काठमाडौँ उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा समेत कारवाही भोग्नुपर्नेछ । प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ ।
‘होइन, गरेकै छैन भन्दै धेरै आउँछन, झगडा गर्छन, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन’, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाए । उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सिसी क्यामरा सञ्चालनमा छ । क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ । जडान गरिएकामध्ये १५१ सिसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्न सक्छ ।
प्रहरीले त्यही सिसी क्यामराले खिचेको श्रव्यदृष्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ । त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ । ‘तीन पटकसम्म उनीहरुलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारवाही गर्छौं’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भने । पछिल्लो तीन महीनादेखि यो क्रमलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ ।
प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महिनामा मात्रै १५० लाई कारवाही गरेको छ । सिसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरूपमै भेटेर कारवाही गरेको सख्या ८५६ रहेको छ । सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सिसी क्यामराबाट ३९ कारवाही परेका छन् । चालु आर्थिक वर्षमा सिसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लघंन गर्ने कुल सात हजार एक सय ६ कारवाही परिसकेका छन् ।
काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य सडकमा ट्राफिक नदेखेपछि जथाभावी गाडी दौडाउँदा दुर्घटनाको जोखिम भएपछि सिसीटिभीको श्रव्यदृश्यका आधारमा कारवाही थालिएको बताउँछन् । नेपालमा प्रहरीको संख्या न्यून छ । हरेक ठाउँमा प्रहरीले निगरानी गर्न सक्दैन । त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो । जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया