काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुक्रबारबाट सुरु भएको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिकाले विजयी सुरुवात गरेको छ । चन्द्रपुरले गोदावरी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा चन्द्रपुरको जितमा सबिता राना मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ र निशा थोकरले एक एक गोल गरिन् । जितसँगै समूह ‘सी’ मा रहेको चन्द्रपुरले ३ अंक जोडेको छ । शुक्रबारै भएको उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २–२ गोलको बराबरी खेले ।
राष्ट्रिय टोलीकी पूजा रानाले गरेको गोलमा बाँसगढीले ११औँ मिनेटमा अग्रता लिएको थियो । २१औँ मिनेटमा दीपा पुनमगरले बराबरी गोल फर्काइन् । त्यसको चार मिनेट बित्न नपाउँदै ममता पुनमगरले अर्को गोल थपेपछि तुलसीपुरले अग्रता लिएको थियो । तर ३७औँ मिनेटमा पुजाले बराबरी गोल फर्काइन् । शुक्रबार नै भएको दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले गोदावरी नगरपालिकालाई ४–० ले पराजित ग¥यो ।
सविता रानामगरको गोलबाट २४औँ मिनेटमा अग्रता लिएको चन्द्रपुरले ४७औँ मिनेटमा अग्रता दोब्बर बनायो । रश्मीकुमारी घिसिङले ६४औँ मिनेट तेस्रो गोल थपिन् भने निशा ठोकरले ६६औँ मिनेटमा अर्को गोल थपिन्।
एन्फाको महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाइ ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउनेछन् ।
प्रतिक्रिया