गाईघाट । उदयपुरमा व्यावसायिक रूपमा तेजपात खेतीको विस्तार भइरहेको छ । साढे तीन दशकअघि उदयपुरको रौता मुर्कुचीबाट सुरु भएको तेजपात खेती विगत दश वर्षयता जिल्लाको मध्यपहाडी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र हुँदै पूर्वी पहाडी क्षेत्रसम्म विस्तार हुँदै गएको छ ।
पन्ध्र वर्षअघि देखि जिल्लाको मध्यक्षेत्रको भुटार, नामेटार, इनामे, माझखर्क, ठानागाउँ, रौता पाँबु, सल्ले, मलबासे हुँदै साउने खाँबुसम्म व्यावसायिक रूपमा तेजपात खेती विस्तार भइसकेको रौता–५ पाँबुका ७० वर्षीय जुद्धबहादुर मगरले बताए । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, सोरुङछबिसे, बाहुनीटार, ओख्ले बेतिनी, लेखगाउँ क्षेत्रमा पनि यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कर्मचारी तथा प्राविधिकहरू बताउँछन् ।
हाल आएर जिल्लाको पूर्वी पहाडी क्षेत्रको सिद्धिपुर, चौदण्डीलगायत क्षेत्रमा समेत व्यापक रूपमा व्यावसायिक तेजपात खेतीको विस्तार भएको सिद्धिपुर माविका प्रधानाध्यापक रितबहादुर मगरले बताए । अहिले केही वर्षयता आएर जिल्लाको मध्यपहाडी क्षेत्रकै उदयपुर गढीको पञ्चावती, डुम्रे, भलायाडाँडा क्षेत्रमा समेत व्यापक रूपमा तेजपातको व्यावसायिक खेती सुरु भएको उदयपुर गढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् ।
स्थानीयस्तरमा पनि तरकारीमा मसलाको रूपमा प्रयोग गर्न सकिने तेजपात विभिन्न औषधि जडीबुटीका रूपमा लोकप्रिय रहेको छ । विशेषगरी छिमेकी मुलुक भारतबाट यसको अत्यधिक माग हुन थालेपछि अहिले उदयपुर जिल्लामा तेजपातको व्यावसायिक खेतीको विस्तारमा वृद्धि हुँदै गएको छ । उदयपुर रौतामाई गाउँपालिका–२ मुर्कुचीका बीस वर्षदेखि व्यावसायिक रूपमा तेजपात खेती गर्दै आएका ६७ वर्षीय देवबहादुर रिखाम मगरले लेखको भिराले जग्गा, अन्य अन्नबालीहरूभन्दा तेजपात नै फस्टाउने हुनाले बीस वर्षदेखि आफूले घरबारी र डाँडापाखाहरूमा निरन्तर तेजपात खेती गर्दै आएको बताए । हाल उनले एक वर्षमा बाह्र लाखसम्मको तेजपात बिक्री गर्छन् ।
रौतामाई गाउँपालिका–४ मलबाँसेका व्यावसायिक तेजपात उत्पादक कृषक हर्कबहादुर मुग्राँती पनि सोह्र वर्षदेखि निरन्तर रूपमा व्यावसायिक रूपमा तेजपात खेती गर्दै आएको बताउँछन् । मुग्राँतीले आफ्नो दश रोपनी जग्गामा तेजपात खेती गर्दै आएको र यसबाट वर्षेनी आठ लाखसम्म आम्दानी गर्न सफल भएको बताए । रौता क्षेत्रमा अहिले तेजपात व्यावसायिक कृषकले कम्तीमा दुई लाखदेखि बढीमा बाह्र लाख रुपैयाँ सम्मको तेजपात बिक्री गर्ने गरेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरीले बताइन् ।
रौताक्षेत्रमा अहिले प्रत्येक कृषकका घरबारीमा कम्तीमा सयदेखि बढीमा हजारसम्म तेजपातका रूखहरू रहेका छन् । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काका अनुसार गाउँपालिकाका ६० प्रतिशत जनताको मुख्य आम्दानीको स्रोत नै तेजपात रहेको छ । रौतामाई गाउँपालिकामा वर्षेनी तेजपात बिक्रीबाट पाँच करोडभन्दा बढी भित्रिने गरेको अध्यक्ष खड्काले जानकारी दिए ।
जिल्ला वन डिभिजन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले उदयपुर जिल्लाको पहाडी क्षेत्रको झण्डै ७५० हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा तेजपात खेती विस्तार भइसकेको बताए । उदयपुरमा उत्पादन हुने तेजपात सिधै स्थानीय बजार भएर पूर्वको विराटनगर, जनकपुर तथा वीरगञ्ज नाका हुँदै भारतीय बजारतर्फ बिक्री हुने गरेका कारण उदयपुर जिल्लामा तेजपातको खेती वर्षेनी फस्टाउँदै गएको सहायक वनअधिकृत यादव बताउनुहुन्छ ।
यता व्यावसायिक तेजपात उत्पादन गर्ने कृषकले तेजपातको उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् । बिचौलियाहरूका कारण आफूहरू वर्षेनी तेजपातको मूल्यमा ठगिनु परेको गुनासो उनीहरूको छ । पाँच वर्षअघि पनि उदयपुरको पहाडी क्षेत्रमा तेजपातको मूल्य प्रतिकेजी ३० देखि ४० रहेको थियो र अहिले पनि सोभन्दा बढी मूल्य बढ्न नसकेको र यसमा स्थानीय व्यापारी र बिचौलियाका कारण तेजपात उत्पादक कृषकहरू मूल्यमा ठगिनु परेको गुनासो उदयपुरका तेजपात उत्पादक कृषकहरूको भनाइ छ ।
जिल्लाको सदरमुकाम गाईघाट बजारमा सिजनमा ५० देखि ६० प्रतिकेजी तेजपात बिक्री हुने गरेको भएपनि विराटनगरमा प्रतिकेजी ९० रुपैयाँभन्दा माथि र भारतमा १५० देखि २ सय प्र्रतिकेजी तेजपातको मूल्य रहेको व्यापारीहरू बताउँछन् । तर, उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने तेजपातको मूल्यको निर्धारण स्थानीय व्यापारी तथा बिचौलियाहरूले गर्ने गरेका कारण आफूहरू मूल्यमा ठगिँदै आएको साउने खाँबुका तेजपात उत्पादक कृषक भीमप्रसाद तिमसिना बताउँछन् । अहिले उदयपुर जिल्लाबाट वार्षिक चौध करोडभन्दा बढीको तेजपात बिक्री भएर अन्यत्रतर्फ पैठारी हुने गरेको त्रियुगा उद्योण वाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्माले बताए ।
प्रतिक्रिया