संसद्मा को कति उपस्थित

बुटवल । प्रदेश–५ सरकारमा ६ सदस्यीय मन्त्रीमण्डल रहेको छ । सरकारको नीति तथा कानुन निर्माण गर्ने थलो भनेको नै संसद् हो । नेताहरू संसद्मा आफ्नो भूमिका कति निर्वाह गर्छन् भन्ने आमजनताको चासोको विषय पनि हो । नीति तथा कानुन बनाउन उनीहरू संसद्मा कति उपस्थित भएका छन् त ? यसैबीच प्रदेश–५ सरकारका ६ जना मन्त्रीहरू ‘माननीय’ को हाजिरी फेला परेको छ ।

तेस्रो अधिवेशन सकिँदा संसद् बैठक ८३ पटक बसेको छ । जसमा मुख्यमन्त्री शंकर पोखरेल जम्मा ३२ पटक मात्र संसद्मा गएका छन् । सामान्य कार्यक्रममा व्यस्त बन्ने मन्त्रीहरू संसद्मा कम मात्रामा उपस्थिति हुने गरेको गुनासो आमजनतामा भइँरहदा सांसदहरू संसद्मा भन्दा बढी सामान्य कार्यक्रममा व्यस्त हुने गरेको तथ्य फेला परेको छ । पहिलो अधिवेशनमा १८, दोस्रो अधिवेशनमा आठ, तेस्रो अधिवेशनमा चार गरी कुल ३२ वटा बैठकमा मात्र मुख्यमन्त्री शंकर पोख्रेल संसद्मा हाजिर भएका छन् ।

त्यसैगरी आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी मन्त्रिमण्डल सदस्य मध्ये संसद्मा कम जाने दोस्रो ‘माननीय’ हुन् । कुल ८६ वटा बैठक मध्ये केसी जम्मा ४१ वटा बैठकमा हाजिर भएका छन् । पहिलो अधिवेशनमा १९, दोस्रो अधिवेशनमा १५ र तेस्रो अधिवेशनमा सात गरी उनी जम्मा ४१ वटा संसद् बैठकमा गएका हुन् । केसी रोल्पा–१(क) बाट नेकपाको तर्पmबाट सांसद बनेका हुन् । उनी गृह जिल्लाका कार्यक्रममा बढी सक्रिय छन् ।

त्यसैगरी सामाजिक विकास मन्त्री सुदर्शन बराल तेस्रो अधिवेशनसम्म ४६ वटा बैठकमा संसद्मा पुगेका छन् । बुटवलका सामान्य कार्यक्रममा समेत उपस्थित हुने बराल कतिपय समयमा हाजिर गरेर मात्र कार्यक्रममा जानेसमेत गर्दथे । गुल्मी–१(क) बाट निर्वाचित मन्त्री बराल पहिलो अधिवेशनमा १७, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा १५ गरी ४६ वटा बैठकमा हाजिर भएका छन् ।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल तेस्रो अधिवेशनसम्म जम्मा ६३ पटक संसद् बैठकमा उपस्थित भएकी छन् । बाँके–२(क) बाट निर्वाचित मन्त्री गौतम तेस्रो अधिवेशनको कुल ८३ वटा बैठक मध्ये ६३ वटा बैठकमा उपस्थित भएकी हुन् । उनी पहिलो अधिवेशनमा १८, दोस्रो अधिवेशनमा २० र तेस्रो अधिवेशनमा २५ पटक उपस्थित भएकी हुन् ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी तेस्रो अधिवेशनसम्म ७७ वटा बैठकमा उपस्थित भएका छन् । पहिलो अधिवेशनमा १८, दोस्रोमा २२ र तेस्रोमा २७ गरी ६७ वटा बैठकमा उनी उपस्थित भएका हुन् ।

त्यसैगरी मन्त्रीहरूमा सबैभन्दा बढीपटक संसद्मा पुग्ने मन्त्री लीला गिरी हुन् । रूपन्देही–२(क) बाट निर्वाचित गिरी तेस्रो अधिवेशनको ८३ वटा बैठक मध्ये ७० वटा बैठकमा उपस्थित भएका छन् । सबैभन्दा बढी सामाजिक कार्यमा सक्रिय गिरी जसरी पनि संसद् बैठकमा आउने गरी कार्यक्रमको तालिका तयार बनाएर हिँड्ने गर्छन् । मन्त्री गिरी पहिलो अधिवेशनमा २०, दोस्रो अधिवेशनमा २६ र तेस्रो अधिवेशनमा २४ गरी ७० वटा बैठकमा उपस्थित भएका छन् । हाल प्रदेश–५ मा चौथो अधिवेशन चलिरहेको छ ।

प्रतिक्रिया