सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला चल्दै छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरू पुगेको खप्तड मेलामा पुगेका उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए ।
उनले भने, ‘खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुह्रू हजारौँको संख्यामा पुगेका छन् निकै रमाइलो भएको छ ।’ सुदूरपश्चिमको ‘भू–स्वर्ग’ को उपमाले चिनिँदै आएको खप्तडमा विशेषगरी मेलाको मुख्य दिन नवमी तिथीका दिन (यो वर्ष गएको मंगलबार परेको) लागेको मेलामा देउडा खेलेर श्रद्धालुहरूले बुधबार बिहान पूजाआजा गरे ।
गंगाादशहरा मेलाकै अवसर पारी डोटी उद्योग वाणिज्य संघले बर्सेनी आयोजना गर्दै आएको खुला पुरुष भलिबल, घोडा दौड र सुदूरपश्चिमकै संस्कृतिका रुपमा चिनिएको देउडा प्रतियोगिता यस पटक पनि आयोजना गरेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।
उनले भने, ‘खप्तडलाई देश–विदेशमा चिनाउन हामीले बर्सेनी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छौँ, सोही अनुसार यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेका ग¥यौं निकै रमाइलो भयो ।’ खप्तड धार्मिक दृष्टिका साथै पर्यटकीय दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण स्थान हो । यहाँको रमणीय दृश्य अवलोकन गर्नेले एक पटक स्वर्गीय आननदको अनुभूति गर्ने गर्छ । सप्तडको पाटनमा पुगेर सुस्ताउँदा त्यहाँ पुग्दासम्मका सार कठिनाइ एकै पटक बिर्सन मन लाग्छ ।
‘गंगादशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरू घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्यरुपमा मेला लागिरहेको दीपायलका स्थानीय तथा डोटी उद्योग वाणिज्य संघका पूर्वसदस्य गणेशबहादुर साउदले बताए । उनले भने, ‘मेलामा मात्रै होइन अरू बेला पनि खप्तड जानुहोस् भूस्वर्गको आनन्दमा रमाउनुहोस भन्दै आएका छौं ।’
गङ्गादशहरा मेलाका दिन त्रिवेणीधाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने जनविश्वास रहेकाले यो मेलाको आकर्षण बढेको स्थानीय समाजसेवी गणेशदत्त भट्टले बताए । उनले भने, ‘गंगादशहरा मेलाका दिन त्रिवेणीधाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने भन्ने विश्वासका कारण यो मेलाको समयमा वृद्धवृद्धादेखि बालबालिकालगायत अन्य युवाहरूको पनि बढी भीड लाग्ने गर्दछ ।’ मेलाको समयमा नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि बर्सेनी आफ्नै खर्चमा पूजा गर्ने चलन रहिआएको छ ।
सुदूरपश्चिमका चार पहाडी जिल्ला बाजुरा, बझांङ, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरूमध्येको एक हो । खप्तड क्षेत्रमा आँखाले नभ्याउने विशाल फाँटहरू, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीविरंगी फूलले छपक्कै छोपेका मैदानहरू रहेका छन् । २२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीतापाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटनजस्ता धार्मिक स्थलहरू रहेका छन् ।
निकुञ्जको संरक्षणका लागि चार वटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठ महीनामा गंगादशहरा मेला तथा भदौ महीनामा जनैपूर्णिमाका दिन पनि भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकहरूको घुइँचो लाग्ने गरेको पूर्वीचौकी गाउँपालिकास्थित बग्लेकका स्थानीय धनबहादुर विष्टले बताए ।
खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा तथा सहजताका लागि डोटीको पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्रानासम्म सडक सुविधा पु¥याइएको छ । त्यहाँबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, ‘हामीले झिग्रानासम्म सडक सुविधा पु¥याउन सफल भएका छौँ भने त्यहाँबाट पर्यटकको मागबमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।’
खप्तड क्षेत्र खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । विभिन्न धार्मिक ग्रन्थ र पुस्तकह्रूमा लेखिएअनुसार खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएका थिए । खप्तड बाबाको आगमनपछि स्थानीयले तत्कालीन राजा वीरेन्द्र शाहलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको थियो ।
खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि भएको स्थानीयको भनाइ छ । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान पनि छन् । उक्त ठाउँमा बाबाले योग र ध्यान गगरेर बसेका थिए र किताबहरू लेखेका थिए । उनले लेखेको को धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक विभिन्न कितावमा उल्लेख गरिएको छ ।
यस क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्रलिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतिह्रू र चराचुरुङ्गीह्रू रहेका छन् । समुद्र सतहबाट तीन हजार ५सय मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५ सय ६७ थरीका वनस्पति र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगीमध्ये २ सय ६० भन्दा बढी चराचुरुंगीहरू पाइने गरेको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए ।
उनका अनुसार खप्तड क्षेत्रमा खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शाहले भने, ‘अरू कुरो त छोडौँ विश्वमा कही नपाइने दुर्लभ जातिको हरियो छेपारो पनि हाम्रै खप्तड राष्ट्रिय निकुञ्जमा पाइन्छ ।’
त्यस्तै बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खप्तड दहलगायत विभिन्न ५२ वटा ताल (दह) यसै क्षेत्रमा रहेको छ । यति मात्र नभई खप्तड राष्ट्रिय निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायतका जंगली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूल्ठूला घाँसेमैदान, ससाना ढिस्का र रमाइलो जंगल रहेको छ । त्यहाँ रहेका घाँसेमैदानमा गाई, गोरु, घोडा बर्सेनी चर्न आउने र रमाउने गर्छन् । खप्तड क्षेत्रमा चारैतिर घनघोर जंगल र बीचमा ठूलठूला फाँट छन् ।
जैविक विविधताले भरिएको यो क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज बनेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दीपायल राजपुरले जनाएको छ । खप्तडमा २ सयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेलगायतका जन्तु–पक्षी पाइन्छन् । मंसिर महिनादेखि फागुन महिनासम्म हिउँले ढकमक्क हुने गर्दछ ।
प्रतिक्रिया