नेपाली श्रमबजारमा वार्षिक झण्डै चार लाख नयाँ जनशक्ति थपिन्छ । तर रोजगारीका अवसरहरू कम भएकाले युवाहरू विदेश जाने क्रम जारी छ । आर्थिक वर्ष ०७४-७५ सम्म श्रम स्वीकृति लिई ४० लाख ३ हजार ४ जना विदेशमा रोजगारीकालागि गए । अवैध तरिकाले जाने र छिमेकी राष्ट्र भारतमा काम गर्न जानेहरूको संख्या जोड्ने हो भने करिब एक करोड युवाहरू विदेशिएको अनुमान छ ।
वैदेशिक रोजगारीमा जानु नेपाली समाजका लागि कुनै नौलो कुरा होइन । सुगौली सन्धी पश्चात् युवाहरू ब्रिटिस आर्मीमा भर्ती हुन थालेदेखि वैदेशिक रोजगारीको सुरुवात भएको हो । हालसम्म पनि ब्रिटिस आर्मी तथा छिमेकी राष्ट्र भारतमा रोजगारीको लागि जाने क्रम रोकिएको छैन ।
संख्यात्मक र गुणात्मक दृष्टिकोणले युवावर्गलाई देशको महत्वपूर्ण वर्गको रूपमा अंगीकार गरिन्छ । यति मात्र होइन, उक्त वर्गलाई राष्ट्रको सर्वतोमुखी विकासका लागि कर्मठ एवं सक्रिय जनशक्ति मानिन्छ । परन्तु आज कुल जनसंख्याको झण्डै १५ प्रतिशत विदेशिएका छन् । यसबाट देशलाई केही फाइदा भए पनि परनिर्भरता भने बढेको छ । देशमा कृषि तथा अन्य क्षेत्रहरूमा काम गर्नेहरूको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ । यसबाट देशको अर्थतन्त्रमा समेत खतरात्मक प्रभाव पर्न गएको छ ।
निर्माण व्यावसायीहरूका अनुसार नेपालको निर्माण क्षेत्रमा मात्र दुई लाख दक्ष जनशक्तिको अभाव छ । कतार जाने अधिकांश नेपाली निर्माण क्षेत्रमा काम गर्छन् । यदि स्वदेशमै निर्माण सम्बन्धी तालिम सञ्चालन गर्ने हो भने मातृभूमि छोडेर मरुभूमिमा काम गर्न जाने युवाहरू कमै हुने थिए । यसो गर्न सकेमा विदेशी मजदुरहरूमा पनि भर पर्नुपर्ने थिएन
एकातिर यहाँका युवाहरू कामको खोजीमा मलेसिया र खाडीमा गइरहेका छन् भने अर्काेतिर देशभित्रकै उद्योग तथा प्रतिष्ठानहरूमा दक्ष जनशक्तिको अभाव छ । त्यसैले यी उद्योग तथा प्रतिष्ठानहरूमा भारतीय तथाबंगलादेशी कामदारहरू कार्यरत छन् । आवश्यक दक्ष जनशक्ति नहुनाले यहाँको बेरोजगारीको समस्या बढेको हो । मुलुकका धेरैजसो उत्पादनमूलक उद्योगहरू केहीवर्ष अघिदेखि नै बाह्य मजदुरहरूको भरमा सञ्चालन भइरहेका छन् ।
यहाँका उद्योगहरू विदेशी उद्योगहरूसँग प्रतिस्पर्धी हुन नसक्नुको कारण विदेशी कामदारहरूलाई बढी ज्याला दिएर भित्र्याउनु पर्ने भएकाले हो । कच्चा पदार्थ र ढुवानीमा समेत बढी खर्च गर्नुपर्ने भएकोले यहाँका औद्योगिक उत्पादनहरूको लागत बढ्नु स्वभाविक हो । परन्तु यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न गएको छ ।
देशमा दक्ष जनशक्ति उत्पादन गर्ने काम सरकारको हो । परन्तु सीमित बजेट र न्युन कार्यक्षमता भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई उक्त कामको जिम्मा दिएर सरकारको दायित्व पुरा भएको महसुस गर्न सकिदैन । बरु यसका लागि निजी क्षेत्रलाई विशेष सुविधा प्रदान गरी यस क्षेत्रमा आवद्ध गर्न नितान्त आवश्यक छ ।
हाल देशका विभिन्न क्षेत्रहरूमा र खास गरेर सहरी क्षेत्रहरूमा विभिन्न किसिमका निर्माणका कामहरू तीव्र रूपले दिन प्रतिदिन बढिरहेको छ । निर्माण व्यवसायीहरूका अनुसार यहाँको निर्माण क्षेत्रमा मात्र दुई लाख दक्ष जनशक्तिको अभाव छ । कतार जाने अधिकांश नेपाली निर्माण क्षेत्रमा काम गर्छन् । यदि स्वदेशमै निर्माण सम्बन्धी तालिम सञ्चालन गर्ने हो भने मातृभूमि छोडेर मरुभूमिमा काम गर्न जाने युवाहरू कमै हुने थिए । यसो गर्न सकेमा विदेशी मजदुरहरूमा पनि भर पर्नुपर्ने थिएन र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने थियो । तर, हालसम्म पनि उक्त कुरालाई सम्बन्धित पक्षले ध्यानदिन सकेको छैन ।
आज औद्योगिक क्षेत्रमा मात्र नभई कृषि क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव छ । सेवा क्षेत्रमा मजदुरहरूको जुन प्रकारको उच्च माग छ त्यसको तुलनामा आपूर्ति हुन सकेको छैन । यी कुराहरूलाई समयमै यथोचित ध्यानदिन सकेमा यहाँको श्रम शक्तिको परिपूर्ति भई अर्थव्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने थियो । तर यस सम्बन्धमा पनि सरकारको ध्यान जान सकेको छैन ।
कृषि नेपालीहरूको परम्परागत पेशा हो । यस क्षेत्रको ठोस विकासका लागि अधिकांश कृषकहरूलाई छोटो अवधिको तालिम प्रदान गर्न सकेमा यहाँको आर्थिक विकासमा निकै योगदान पुग्न सक्छ । वास्तवमा कृषि मन्त्रालयद्वारा बेलाबेलामा विभिन्न किसिमका तालिमहरू आयोजना गरेको समाचार सुनिन्छ । तर यी तालिमहरू पर्याप्त छैनन् । यसैले विभिन्न क्षेत्रमा विभिन्न किसिमका तालिमहरू आयोजना गर्न सकेमा कृषि क्षेत्रबाट धेरै नै फाइदा लिन सकिन्छ ।
वर्तमान सरकारले आगामी पाँच वर्षभित्र देशका युवाहरूलाई विदेश जानु नपर्ने कुरा बारम्बार दोहो¥याएको छ । देशमा औद्योगीकरण गरी सबै युवालाई रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य भएपनि हालसम्म पनि यस सम्बन्धमा कुनै नीति तथा कार्यक्रम प्रकाशमा नआएकोले पत्याउन सकिदैन ।
वास्तवमा सरकारले रोजगारी सिर्जनागर्दा कुन उद्योगलाई प्राथमिकता दिने र कस्तो रणनीति लिने भन्ने विषयमा प्रष्ट हुनुपर्छ । तर बेरोजगारहरूलाई दक्षजनशक्तिमा रूपान्तरण नगरेसम्म यो सम्भव छैन ।
नेपालमा हालसम्म पनि जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको पाइदैन । प्रविधिको विकासको कारण अधिकांश काममा बढी जनशक्ति नचाहिने वर्तमान अवस्थामा दक्ष जनशक्ति उत्पादन आजको आवश्यकताहो । यस सम्बन्धमा सम्बन्धित क्षेत्रको ध्यान यथाशीघ्र आकृष्ट हुन जरुरी छ ।
वर्तमान समयमा सरकारले कामको लागिविदेश जाने नेपालीहरूलाई रोक्नु भन्दा पनि उनीहरूको आम्दानी बढाउने कुरामा ध्यानदिनु जरुरी छ । यसका लागि उनीहरूलाई दक्ष बनाउन आवश्यक छ । यति मात्र होइन, स्वदेशी उद्योगहरूमा काम गर्ने व्यक्तिहरूलाई दक्ष बनाउन विभिन्न क्षेत्रमा आवश्यकता अनुसारका प्रशिक्षण केन्द्रहरू स्थापना गर्न आवश्यक छ ।
हाल पर्यटन क्षेत्रमा र त्यसमा पनि खास गरेर होटेल क्षेत्र बाहेक अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्रको लगानी देखिदैन । त्यसैले दक्षजनशक्ति उत्पादनका लागि सरकार र निजी क्षेत्र एकजुट भई काम गर्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया