प्रधानमन्त्री ओली पेरिसमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् । ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन् ।

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले बुधबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए । प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे । बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका थिए ।

प्रतिक्रिया