सगरमाथा दिवस र यसको औचित्य

गत वैशाख १५ गते तदअनुसार सन् २०१९, मे २९ गते विश्व सगरमाथा दिवस मनाइयो । स्मरणीय छ, नेपालमा सरकारी स्तरमा सगरमाथा दिवस मनाउन गणतान्त्रिक सरकार नै स्थापना हुनुपरेको थियो । भनाइको मतलव विसं ०६२-६३ दोस्रो जनआन्दोलपछि बनेको सरकारले मात्रै नेपाल सरकारले मन्त्रिपरिषदस्तरीय निर्णय गरेर सरकारी तहबाटै सगरमाथा दिवस मनाउन थालियो ।

सगरमाथा हिमालको महत्व कति छ भन्ने त यो सिजनमा इतिहासकै सबैभन्दा धेरै पर्वतारोहीहरूको संख्या सगरमाथा आरोहणका लागि गएकोले नै बताउँछ । विश्वव्यापी व्यापारीकणसँगै बढ्दो क्रममा रहेको छ, पर्वतारोहण र पर्वतारोहणसँग सम्बन्धित खेलहरू । अबका दिनमा अरू बढी मानिसहरूको भीडभाड हुने छ, सगरमाथा अर्थात् चोमोलुङमा र त्यस आसपासमा रहेका ल्होत्से, चोओ यु, नुप्से, आमा डाब्लाम, चोलात्से, तावाचे, लोबुचे, आइल्यान्ड पिक लगायत अन्य ससाना हिमालमा । किनभने, हाल हिमाल आरोहण विश्वभरिका एक से एक पर्वतारोहीहरूका लागि मात्रै नभएर सर्व साधारण मानिसहरूका लागि पनि रुचीकर रमाइलोको विषय हुँदै गएको छ । त्यति मात्रै होइन, वास्तवमा पर्वतारोहण खेल एक आदर्श र रोमाञ्चक खेलका साथै आपूmलाई कन्सन्ट्रेट गराउने खेल पनि हो, –पर्वतारोहण ।

सरकारीस्तरमा निर्णय गरेर सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउन थालेको भनेको ०६४ देखि मात्रै हो । तर, निजी क्षेत्रका खासगरी पर्यटन व्यवसायी त्यसमा पनि ट्रेकिङ एजेन्सीहरूले भने धेरै अघिदेखि नै सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउन थालेका हुन् । यसरी सगरमाथा अर्थात् चोमोलुङमा विजय गरेको दिन अर्थात् सन् १९५३ मे २९ मा जब पहिलोपटक (तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमन्ड हिलारी (न्यूजिल्यान्ड) ले सफलतापूर्वक सगरमाथाको शिरमा मानव पाईला राख्न सफलता प्राप्त गरे, त्यही दिनलाई विश्वभरि चीरकासम्म सम्झनलाई र, सगरमाथाबारे विश्वभरि प्रचारप्रसार गर्नलाई हरेक वर्षको मे २९ लाई सगरमाथा दिवस मनाउने निर्णय भएको हो । अझ, हामीले विश्वभरिकै सरकार र, विश्वका जनताहरूलाई पनि सगरमाथाको महत्वलाई बुझाएर विश्व सगरमाथा दिवस मनाउनेतर्फ पनि पाइला चाल्ने हो कि ? त्यसो त हाल युरोप–अमेरिकामा पनि सगरमाथा अर्थात् ‘चोमोलङुमा अथवा भनौं एभरेस्ट डे’ मनाउन थालिएको छ । जुन कुरोलाई सकारात्मक मान्न सकिन्छ ।

तर, केवल दिवस मनाएर मात्रै केही हुने होइन । आज नेपाल र नेपालीहरूको विडम्बना के छ भने, एक दिन दिवस मनाउने वा सम्झना गर्ने बांकी केही नगर्ने प्रचलन बढ्दो छ । त्यसैले, बरु अबका दिनमा सगरमाथा अर्थात् चोमोलुङमाको प्रथम आरोहीद्घय मध्ये एक स्व. सर एडमन्ड हिलारीले उनी आफू ज्यूँदो हुँदा बारम्बार भनेझैँ सगरमाथालाई केही समय आराम गर्न दिने कि ? अनि सगरमाथामाथि विजय पाउने उत्कट अभिलाषा लिएर गएकाहरूलाई सगरमाथाले उतै राखेका (मृत्युवरण गरेका) हरूका लासहरूलाई पनि फिर्ता ल्याउन पहल गर्ने कि ?

जुन आरोहीहरूका लास सगरमाथाको विभिन्न क्षेत्र (बाटाहरूमै) मा बर्सेनि कपाल र नङ बढाएर बसिरहेका छन् । अन्य फोहोरजन्य वस्तुहरू पनि जस्तै डोरीलगायतका सरसामानहरूलाइृ पनि किन फिर्ता ल्याउने प्रयास नगर्ने ? त्यसै त केही वर्षअघि २१औँ पटकसम्म चोमोलुङमालाई सफलतापूर्वक चुमिसकेका आप्पा शेर्पाले चोमोलुङमा ८,००० मिटर क्षेत्रमा पानी देखेको बताएका थिए भने, यसरी वातावरणीय प्रभावलाई पनि बेलैमा व्यवस्थापन गरिएन भने, भोलिका दिनमा सगरमाथा नरहन पनि सक्छ । सगरमाथा नै रहेन भने के को कीर्तिमान ?, कहांँको कीर्तिमान ?

सगरमाथाको शिरमा अनेकौँ मानव निर्मित कीर्तिमानहरू कायम भएको छ । जस्तै कि, विश्वकै पहिलो महिला आरोही, नेपाली प्रथम महिला आरोही, विश्वकै पहिलो अन्धा–अपांग आरोही, प्रथम विवाहितजोडी आरोही, पाको उमेरकी महिला आरोही, उत्तर–दक्षिण दुबै दिशाबाट आरोहण गर्ने प्रथम महिला आरोही, सबैभन्दा ठूलो दल, नेपाली प्रथम पत्रकार आरोही, पाको उमेरका आरोही, बिना अक्सिजन आरोहण गर्ने आरोही, सगरमाथाको शिरबाट स्की गरेर झर्ने आरोही, २२ घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने आरोही, २४औं पटक सफलता पूर्वक चढ्ने आरोही, एचआइभी एड्स पीडित आरोही, कुनै पनि जातिका प्रथम जातीय आरोही, छिटो सगरमाथा आरोहण गर्ने आरोही आदि इत्यादिको कीर्तिमानै कीर्तिमानको खात लागेको छ ।

संजोगले यस्ता कीर्तिमानी आरोहीहरू प्रायः नेपालीहरू नै रहने गर्छन् । जुन विश्वको पर्वतारोहण इतिहासमा गर्व गर्न लायक अनेक कीर्तिमानहरूलाई वास्तवमै गर्व गर्न लायक मान्न सकिन्छ । सगरमाथा कीर्तिमान राख्ने होडमा पूर्व परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्याय पनि ८० वर्षको उमेरमा समेल भएका थिए । तर, उनी आधार शिविरमै बिते । यसरी कीर्तिमान राख्ने क्रममै नेपालका अर्का पाका उमेरका मीनबहादुर शेरचनले पनि ८२ वर्षको उमेरमा सगरमाथा चढ्छु भनी सगरमाथातर्पm प्रस्थान गरेका थिए । उनले पनि आधार शिविरमै प्राण त्यागे ।

विश्वकै अग्लो हिमशिखर सगरमाथा चढ्ने र, विभिन्न कीर्तिमान राख्ने क्रममा अनेकौँ विकृतिहरू देखिन थालेपछि तत्कालीन श्री ५ को सरकारले ०५९ चैत्र १८ गते सोह्र वर्ष मुनिकालाई नेपालबाट आरोहण गर्न नदिने नियम लागू गरेको छ । उता विश्वकै गौरबवशाली आरोही मान्न सकिने पर्वतारोही आप्पा शेर्पा, जसले २१औं पटक चोमोलुङमालाई चुमे, उनले सगरमाथाको आठहजार मिटरको सेरोफेरोमा पानी बग्न थालेको बताएका थिए । हुन पनि विश्वमा आठहजार मिटरभन्दा अग्लो हिमालहरू २० वटा (६ वटा नयाँ आठहजार माथिका हिमालहरू मान्यता पाउने क्रममा छन्) भए तापनि सगरमाथामै किन पर्वतारोहीहरूको भीड त ? भन्ने प्रश्न पनि छँदैछ ।

हुन पनि जमीनबाट नाप लिँंदा हालसम्मकै अग्लो (८,८४८ मिटर) शिखर चुम्न पाउँंदा कसको मन फुरुंग नहँुंदो हो ? कसको छाती गर्वले ढक्क नफुल्दो हो ? सगरमाथाको त्यही प्रसिद्घिकै कारण त विश्वका धेरै देशहरूमा रहेका पर्वतारोहणका लागि खुलेका एजेन्सी वा एजेन्टहरूले पनि पैसा कमाउने राम्रो मौका पाएका छन् । उनीहरूले सगरमाथा आरोहरण गर्न चाहनेहरूका लागि विज्ञापन गर्दा एक व्यक्तिको ६५÷७० हजार) अमेरिकी डलर खर्च लाग्ने र जसरी पनि सगरमाथा चढाएरै छाड्ने विज्ञापन गर्छन् । यसरी कसैका लागि कीर्तिमान राख्ने र, कसैका लागि कमाइ खाने भांँडो वा आधार पनि भएको छ, सगरमाथा वा भनौँ माउन्ट एभरेस्ट । कलकत्ताको मछली बजारजस्तै सगरमाथाको शिरमा पनि भीडभाड लाग्न थालेको छ । तर, अब नेपाल सरकारले खालि पैसाको मात्रै मुख हेरेर सगरमाथालाई मछली बजार जस्तै बनाउने हो भने, सगरमाथाको भविष्य कहिलेसम्म सुरक्षित होला ?

प्रतिक्रिया