नेपाली टोली सम्हाल्ने डच प्रशिक्षक

काठमाडौं । नेपाली पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङ नियुक्त भएका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्डका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई मुख्य प्रशिक्षकको रूपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ । उनी नेपाल रहँदाको तलब एफआइबीभीले बेहोर्नेछ ।

प्रशिक्षक एबिङ असारको पहिलो साता नेपाल आउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै हानले नेपाललाई सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जिताउने लक्ष्य रहेको सुनाएको महासचिव चन्दले बताए । उनले नेपालमै साउन अन्तिम साता आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपसम्म नेपालको टोलीलाई सम्हाल्नेछन् ।

प्रशिक्षणमा २५ वर्ष लामो प्रशिक्षण अनुभव बटुलिसकेको ५८ वर्षीय हान ७ वर्षभन्दा १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षक रहेका थिए । २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको मुख्य प्रशिक्षक रहेका उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए । सन् २००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्यान्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए । २०१५ देखि २०१६ सम्म एक बर्ष स्विट्जरल्यान्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुल भलिबलको प्रशिक्षक रहेका थिए ।

नेपाल भलिबल संघले सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष र महिलामा समान २५–२५ खेलाडीको प्रारम्भिक टोली सम्मिलित छनोट गरेको छ । हान नेपाल आएसँगै असार पहिलो साताबाटै नेपालको प्रशिक्षण शुरु हुनेछ ।

प्रतिक्रिया