सन्देशमूलक चलचित्र ‘अधुरो’

सुर्खेत । सामाजिक कुरीतिलाई मुख्य विषय बनाइ निर्माण गरिएको चलचित्र ‘अधुरो’ निर्माण गरिएको छ । एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा बनेको उक्त चलचित्रले सामाजिक कुरीतिले समाज विकासमा पारेको प्रभावलाई देखाइएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यो चलचित्रको गीत तथा ‘ट्रिजर’ को वरिष्ठ कलाकार प्रेमदेव गिरी र नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरूपमा सार्वजनिक गरे ।

कार्यक्रममा कलाकार गिरीले नेपालको चलचित्र इतिहासबारे बताउादै नयाँ पुस्ताले सन्देशमूलक चलचित्र निर्माण गरेर राम्रो काम गरेको बताए । उनले भने, ‘नेपाली सामाजिक जनजीवनमा आधारित कथावस्तुले भरिपूर्ण चलचित्र ‘अधुरो’ बाट समाजमा रहेको बालविवाह, जातीय भेदभाव, महिला हिंसालगायतका कुरीति र विसंगतिका विरुद्ध जनचेतना जोगाउन टेवा पुग्ने आशा गर्न सकिन्छ ।’

त्यसैगरी, संगीतकार तथा नृत्य निर्देशक नेपालीले पनि सुर्खेत कला संस्कृति र प्रतिभाको उर्वरभूमि रहेको बताए । उनले चलचित्र ‘अधुरो’ ले समाजमा रहेका खराब विषयप्रति सचेतना जगाउन भूमिका खेल्ने धारणा इपक्त गरे ।

सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले करोडाैं खर्चेर परिवर्तन हुननसकेको विकृतिमूलक संस्कार र संस्कृतिलाई यस्ता चलचित्रले सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे । उनले भने, ‘समाज रुपान्तरणमा यस्ता चलचित्रले परिवर्तन ल्याउन सक्दछ ।’ उनले समाजलाई सचेत गराउने चलचित्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

चलचित्रमा नेपालको मध्य तथा सुदूरपश्चिमका ग्रामीण भेगमा विद्यमान संस्कृति एवं संस्कारको विषय रहेको छ । समाजमा अहिलेसम्म पनि कायम रहेको बालविवाह, छाउपडीजस्ता कुप्रथाले दिगो विकासमा पर्ने असरलाईसमेत चलचित्रमा उठान गरिएको छ । ‘बिहेबारी, २० वर्ष पारी’ भन्ने सरकारको नारा कार्यान्वयनमा यस चलचित्रले सघाउने निर्देशक राजेश कुमालले बबताए ।

सार्वजनिक ‘अधुरो’ चलचित्रमा सुर्खेतको पर्यटकीय क्षेत्र ‘बुलबुले ताल’ भन्ने बोलको गीत र यसको ट्रिजरमा सुर्खेतकै चर्चित कलाकार टीका पुन र शिव संगीतको आवाज तथा गोविन्द विश्वकर्माको शब्द संगीत रहेको निर्देशक कुमालले बताए । कर्णाली प्रदेश तथा देशकै कुसंस्कारका रूपमा रहेको बालविवाह र त्यसपछि देखिने पारिवारिक तथा सामाजिक समस्या लगायतका विविध विषयलाई चलचित्रमा समेटिएको पुस्ता मिडिया प्रालिका अध्यक्ष रत्न सुनुवारले बताए ।

उनले यो हेर्ने मात्र नभई सन्देश लिने चलचित्र रहेको जिकिर गरे । चलचित्र निर्माता राजेन्द्र खड्का जलनले नेपाली समाजको मनोविज्ञान, जातीय उत्पीडन, घरेलु हिंसा, महिला हिंसाका बारेमा पनि चलचित्रले बोलेको जनाए । निर्माता खड्काले १३ लाख लागतमा यो चलचित्र निर्माण भएको र अब छिट्टै यसलाई युट्युब तथा चलचित्र हलका माध्यमबाट नागरिक तहमा देखाइने बताए ।

सामाजिक अभियानकर्मी प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा, राजेश कुमालको निर्देशन र गोविन्द विश्वकर्माको शब्द÷संगीत रहेको चलचित्र ‘अधुरो’ मा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, शिरीष श्रेष्ठ, निर्मला स्वर्णकार, विक्रम बर्मा, भूमिका परियार, सनोनी कुस्मी, इन्दिरा श्रेष्ठलगायतका सुर्खेती स्थानीय कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया