पूर्ण सरसफाइयुक्त वडा घोषणा

दैलेख । ‘हामी शौचालयको सुरक्षित प्रयोग गर्नेछौँ’, ‘पानीको सुरक्षित प्रयोग तथा भण्डारण गर्नेछौँ’, ‘साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनेछौँ’, यो कुनै नेता र नेतृत्वको भनाइ भने होइन ।

दैलेखको दुल्लु नगरपालिका–२ लाई पूर्ण सरसफाइ उन्मुख एवं सरसफाइ नमुना वडा घोषणा कार्यक्रममा उपस्थित सहभागी स्थानीय नागरिहरूले गरेको प्रतिबद्धता हो । स्थानीयले सुरक्षित खाना खाने, भण्डारण गर्ने, घरआँगन सफा गर्ने, वातावरण सफा गर्ने भन्दै प्रतिबद्धता जनाएका छन् ।

सरकारको सन् २०३० सम्म ‘सबैका लागि सधैँका लागि पूर्ण सरसफाइ’ को अवस्था हासिल गर्ने लक्ष अनुरूप सोमबार दुल्लु नगरपालिका–२ लाई पूर्ण सरसफाइ उन्मुख एवं सरसफाई नमुना वडा घोषणा गरिएको हो । वडाका ९६ प्रतिशत घरधुरीमा पूर्ण सरसफाइका सबै परिसूचकहरू, हरेक घरमा शौचालय, भाँडा सुकाउने चाङ, फोहोर फाल्ने खाडल, घर आँगन सरसफाइ, हरेक घरमा सुरक्षित खानेपानी प्रयोगका लागि फिल्टरको व्यवस्था, सावुन पानीले हात धुने व्यवस्था भएसँगै सरसफाई नमुना वडा घोषणा गरिएको हो ।

कुल २ हजार ९ सय ५९ जनसंख्या रहेको उक्त वडामा सरसफाइका सूचकहरू पूरा भएसँगै नमुना वडा घोषणा गरिएको वडाध्यक्ष लक्षिराम थापाले बताए । सरसफाइसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष थापाले १० वर्ष अघिबाट मात्र यहाँका नागरिकहरूले सरसफाइमा ध्यान दिन थालेका थिए । उनले ०६६ मा झाडापखालाले ग्रस्त पारेको यही वडा हाल आएर नमुना वडा घोषणा गर्न सफल भएको बताए । ०६८ सालदेखि यहाँका विभिन्न टोलमा खानेपानी योजनाहरू सञ्चालन हुँदै आएको थियो । पूर्ण सरसफाइ अभियानकै क्रममा यसअघि विभिन्न टोललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा गरिएको थियो ।

निकट भविष्यमा यस वडाका सबै घरधुरीमा धुँवारहित चुलो प्रयोगमा सुनिश्चितता गर्ने कार्ययोजना अघि सारिएको वडाध्यक्ष थापाले बताए । पूर्ण सरसफाइको अभियानलाई सफल बनाउन वडा समितिले विभिन्न रणनीतिक कार्ययोजना तर्जुमा गरेको उनको भनाइ छ ।

घोषणाका अवसरमा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले पूर्ण सरसफाइलाई सामाजिक आन्दोलनको संज्ञा दिए । उनले समाज सभ्य बनाउन सुरक्षित खानेपानी र सरसफाई महत्वपूर्ण रहेको बताए । अर्को प्रसंगमा सांसद बुढाले वर्तमान सरकार मुलुकको विकास र समृद्धि तथा आमनागरिकको हित हुने खाले काम गरिरहेको बताए ।

कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले आमनेपाली नागरिकहरूलाई सरसफाइ सुविधाको आधारभूत अधिकार प्रत्याभूत गराउनुपर्ने बताए । उनले तीनै तहका सरकारले समावेशी र समानुपातिक ढंगबाट विकासका क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी, उपप्रमुख विष्णु थापा, नेकपामा बरुनाथ योगी, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्ंयमसेविका लगायतले मन्तब्य राखेका थिए । दुल्लु नगरपालिका–२ को वडा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना, दुल्लु नगरपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोअपरेसनको आर्थिक तथा प्राविधिक सहयोग र सोसेक दैलेखको सहजिकरणमा आयोजित कार्यक्रममा सरसफाइ अभियानका क्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानपत्र र कदरपत्रसहित सम्मान गरिएको थियो ।

त्यसअघि सांसद बुढाले वडाध्यक्ष थापालाई पूर्ण सरसफाई उन्मुख र नमुना गाउँ घोषणाको प्रमाणीकरण पत्र हस्तान्तरण गरेका थिए । दुल्लु नगरपालिका–३ र ९ यसअघि नै पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा भइसकेका छन्् ।

प्रतिक्रिया