तीर्थयात्री चढेको बस दुर्घटना

रौतहट । चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुर्घटनामा २१ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट भारतको उपरासाही नेयर खण्डाला मन्दिर जगामारा भुवनेश्वर खोडदाहा उडिसाका ५४ वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

जनकपुर मन्दिर दर्शनका लागि हिँडेका उनीहरूलाई राजमार्गमा राति १ बजे शौच गर्ने क्रममा ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि भारतका तीर्थयात्री सज्यकान्ति प्रधान, मञ्जु विष्डा, सुन्दरी वस्तिया, शौरी विहारा लगायतका घाइते छन् । विहाराको हात भाँचिएको छ भने सर्वेश्वर जेना र शेषादेव जेनाको शरीरका विभिन्न भागमा चोट लागेकाले थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बसचालक झापा मेची नगरपालिका–१० का दुर्गाप्रसाद पौडेलको छातीमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, डिएसपी कवित कटुवालले जानकारी दिए ।

प्रतिक्रिया