एक हप्ताभित्र सडक मर्मत गर्ने सहमति

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सडकको हिलो सफा गर्ने र खाल्डाखुल्डी पुर्ने काम एकहप्ता भित्र गरिसक्ने भएको छ । वर्षाैदेखि हिलो र धुवाँ, धुलोको सास्तिखेप्दै आएका स्थानीयको आन्दोलनपश्चात् नगरपालिकाले सो काम गर्ने भएको हो ।

तत्काल हिलो सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको छ । बाटो पिच नभएर वर्षौं सास्ती बेहोरेपछि आजित भएर थलीबासी मंगलबार बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । बसमा हिड्दासमेत पल्टने हो कि भन्दै डराउनु पर्ने अबस्था छ । खाल्डाखुल्डी र हिलाम्मे सडक वर्षौदेखि अलपत्र रहेको थियो ।

स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए । आक्रोशित युवाले सडकमा टायरसमेत बालेका थिए । ‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरूले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले सवारी आवागमन रोकेका छन् । युवाहरूको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको थियो । थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

सरकार र ठेकेदारको लापर्वाहीले आफूहरूले सास्ती खेप्नु परेको स्थानीयको भनाइ छ । ठेकदारदेखि सरकारसम्म कमिसनको खेतीमा लागेकाले काम नभएको स्थानीय नारायण नेपालले बताए । नगरपालिका र आन्दोलनरत युवाबीच ३ बुँदे सहमति भएको कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिम्खडाले जानकारी दिइन् ।

सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमती भएको छ । तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको छ ।

आन्दोलन नगरी सडक निर्माणको काम नहुने परिपाटी बढ्दै गएको छ । उपत्यकाका अधिकांश सडकहरू आन्दोलन पश्चात मात्र निर्माण हुने गरेका छन् । मुआब्जा बिबादको कारण सडक बिस्तारको काम नभएको नगरपालिकाले जनाएको छ । एक हप्तामा सहमति अनुसारको काम गर्ने उपप्रमुख सिम्खडाको भनाइ थियो ।

चाबहिल–साँखु सडकखण्ड अन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा लामो समय सडक खनेर कालोपत्रे नगरेको भन्दै सडक अवरोध गरेर आन्दोलन गरेका थिए । स्थानीय सडकमा उत्रेर आन्दोलन गरेपछि ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र सुरु गरेको छ ।

प्रतिक्रिया