ब्राजिलको फराकिलो जित

एजेन्सी, फ्रान्स । फिफा अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरले जित निकालेको छ । पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे ।  स्टार खेलाडी नेयमारविना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रूपमा कमजोर टिम होन्डुुरसविरुद्ध खेलको छैटौँ मिनेटबाट गोलको वर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो । छैटांै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३औँ मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे ।

३७औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैँले गोल गर्दै टिमको अग्रता तीन शून्यमा लम्ब्याए । पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल ग¥यो । ४७औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६औँ मिनेटमा डेविड निरिसले पाँचौ गोल गरे ।

ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५औँ मिनेटमा रोबेर्टो फेरमिन्होले र ७०औँ मिनेटमा रिचार्लिसनले गोल गरेर ब्राजिलले ६–० को प्रभावशाली जित निकाल्न सफल भयो । कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उनी कोपा अमेरिका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन् ।

अर्को खेलमा कोलम्बियाले पेरुमाथि ३–० को सहज जित निकालेको छ । पेरुमा भएको खेलमा १० खेलाडीमा झरेको घरेलु टिमलाई सुरुवातदेखि नै दवाबमा राखेको कोलम्बियाको जितमा माटिउस उरुबीले दुई गोल गरे । खेलको २३औं मिनेटमा माटिउसको गोल मार्फत कोलम्बियाले खेलमा अग्रता लियो । पहिलो हाफमा एक शून्यले पछि परेको पेरु ५५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

उसका योसीमार योतुम रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जसको फाइदा लिँदै कोलम्बियाले ६५औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक पनि उसका लागि माटिउसले नै गोल गरे । त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा डुभान जापाटाले टिमका लागि तेस्रो गोल गर्न सफल भए । यस्तै खेलमा पाराग्वेले ग्वाटेमालालाई दुई शून्यले हरायो ।

प्रतिक्रिया