काठमाडौं । नेपालमा प्रचलित लोककलाको प्रवद्र्धन गनैृ लक्ष्य राखेर चार दिने आवासीय कार्यशाला सम्पन्न भएको छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा लोककला विभागद्वारा आयोजित कार्यशालामा १४ जिल्लाका कलाकार सहभागी भएका थिए । आवासीय कार्यशालामा नेवार, थारु, मिथिला, राजवंशी, तामाङ, मगरलगायत विभिन्न समुदायका लोककला बनाइएको नाफाले जनाएको छ । ३७ जना कलाकार सहभागी भएको उक्त कार्यशालामा अग्रज कलाकार सूर्यबहादुर चित्रकारले नेवार लोककला बनाए ।
चार दिने बसाइका क्रममा कलाकारले आ–आफ्नो कला, संस्कृति र परम्परा झल्किने कलाकृति बनाए । कार्यशालामा सरिता चित्रकार, लक्ष्मण मण्डल, पुनम दास, सरिता मण्डल, सञ्जय वान्तवा, वीरेन्द्र राजवंशी, वसन्ती चौधरी, रञ्जु यादव, हरेराम यादव, शिव छाङ्छा राई, गीता ठाकुर, राजन महर्जन, रेखा ठाकुर, लेख मगरलगायतका लोक कलाकार सहभागी थिए ।
सोमबार नाफा परिसरमा भएको कार्यशाला समापन तथा कला प्रदर्शनी कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले लोककलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने धारणा व्यक्त गरे । उनले लोककलाको विकासविना अरु कलाको समेत विकास हुन नसक्ने जिकिर गर्दै भने, ‘आफ्नो कला, संकृति बचाउने क्रममा लोककलाको महत्वपूर्ण भूमिका रहेको छ ।’
प्रतिष्ठानका सदस्य सचिव विपीन घिमिरेले कार्यशालामा धेरै सहभागीलाई आफ्नो मौलिक कलालाई स्थान दिने अवसर मिलेको बताए । उनले भने, ‘यसबाट लोककलाको संरक्षणमा सहयोग पुग्ने छ । लोककलाले मौलिक पहिचान चिनाउने भएकाले यसको विकासका लागि प्रतिष्ठानले आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछु ।’
लोककला विभाग प्रमुख मिथिलादेवी यादवले नेपालमा छरिएका रहेका मौलिक लोककलाको संरक्षण, विकास र विस्तारका लागि कार्यशाला आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनी आयोजना गरिने छ । उनले लोककला परम्परागत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने भएकाले यसले नेपालको प्राचीन इतिहासलाई समेत जीवन्त
राखेको धारणा व्यक्त गरिन् । कार्यक्रममा कलाकार श्यामसुन्दर यादवले संसारको जुनसुकै ठाउँमा लोककला प्रदर्शनी गर्न सकिने बताउँदै यसको महत्व निकै विशिष्ट रहेको बताए । उनले भने, ‘मौलिक संस्कृति र परम्परा संरक्षण गर्न प्रत्येक प्रदेशमा कला प्रर्दशनी गर्नुपर्छ ।’
विभागले यसअघि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला गरेको जनाएको छ । जेठ २४ गतेदेखि सुरु भएको आवासीय कार्यशालामा ४० चित्र बनाइएको विभागीय प्रमुख यादवले जानकारी दिइन् । कार्यशालामा सिर्जित कलाकृति नाफाको कलादीर्घामा ५ असारसम्म चल्नेछ ।
प्रतिक्रिया