कर्णालीको पानी खान बाध्य यार्सा संकलक

मुगु । जिल्लाको पूर्वी करान भेगका विभिन्न हिमाली पाटनमा पाइने यार्सा संकलन गर्न जाने हजारौँ संकलकहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।

उनीहरू कर्णालीको पानी खान बाध्य भएका छन् । हप्ता÷१० दिन बढी मुगुम कार्मारोङ गाउँपालिका–२ को शिरानीचौरमा वन प्रवेशको अनुमति लिन संकलकहरूलाई रोक्ने परम्परा छ । यसरी रोक्दा हजारौँ संकलक जम्मा हुने भएकाले जथाभावी दिसापिसाब गर्ने, प्लास्टिकजन्य र सिसाजन्य फोहोर जताततै फाल्ने भएकाले संकलनको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । हरेक वर्ष संकलकहरूबाट करोडौँ राजस्व संकलन हुने भए पनि संकलकहरूका लागि अस्थायी चर्पी फोहोर व्यवस्थापन र शुद्ध खानेपानीको व्यवस्था नहुँदा समस्या भएको हो ।

तीन वर्षअघि १० लाख खर्चेर खानेपानीको व्यवस्था गरिए पनि खानेपानीको उचित संरक्षण गर्न नसक्दा यस वर्ष यार्सा संकलकहरू नदीको फोहोर पानी खान बाध्य भएका थिए । फोहोर वातावरण र पानीकै कारण एक दर्जन बालबालिकालाई झाडापखाला र आउँमासीले बिरामी परेको मुगु गाउँकी स्थानीयवासी एवं गाउँपालिकाकी उपाध्यक्ष छिरिङ तामाङले जानकारी दिइन् ।

वन प्रवेशका लागि रसिद काट्ने अवधिभर शिरानी चौरमा स्वास्थ्यकर्मीको टोली औषधिसहित बस्ने भए पनि उच्च हिमाली पाटनमा पुग्न नसक्ने शिरानीचौर खटिएका स्वास्थ्यकर्मी गुरुछोर्देन लामाले बताए । शिरानीचौंरमा जम्मा भई उपचार गराउन आएका मध्य अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने समस्या भएका व्यक्ति आउनुले पनि वातावरणीय प्रदूषण र फोहोर खानेपानी नै मुख्य कारण देखिएको लामाले बताए । संकलकहरू वन गइसकेपछि पनि स्वास्थ्यकर्मीको टोली केही दिनसम्म शिरानीचौरमा नै बस्ने र वनबाट फर्किने अधिकांशमा पेटकै समस्या देखिने गरेको उनको भनाइ छ ।

यो भन्दा अगाडि यार्सा संकलकहरूबाट लाखौँ रकम उठाए पनि उनीहरूका लागि खर्च नगरिएको पाइएको मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । आगामी वर्षका लागि शिरानी चौरमा एक दर्जन स्थानमा शुद्ध खानेपानीका धारा, एक दर्जन बढी स्थानमा खाल्डे चर्पी, पाल हाल्ने तथा होटेल पसल गर्ने स्थानको निर्माण गर्ने योजना बनाइएको शाहीले बताए । उनका अनुसार विगतका वर्षहरूमा जस्तो आगामी वर्षमा यार्सा संकलकले शिरानीचौरमा पाल हाल्ने, खानेपानी तथा स्वास्थ्य क्षेत्रमा समस्या बेहोर्ने छैनन् ।

प्रतिक्रिया