गुठी संरक्षकमाथीको सरकारी दमन सरकारको नाङ्गो नाचः नेता प्रधान

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले गुठिको विषयलाई लिएर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका गुठी संरक्षक अभियन्तामाथी भएको सरकारी दमन लाई सरकारको नाङ्गो नाचको संज्ञा दिएका छन् ।
काठमाडौँ ६ बाट प्रतिनिधि सभा सांसद समेत रहेका प्रधानले मछिन्द्र नाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथी सरकारले ताकिताकि आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै सरकारी शैलीको विरोध गरेका हुन् ।

‘मछिन्द्र नाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथी सरकारले ताकिताकि आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको छ, दमन गरेको छ, नाङ्गो नाच देखाएको छ,’ प्रधानद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उनले वर्तमान सरकारले काठमाडौँको स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा हडप्न खोजेको समेत विज्ञप्तीमा भनेका छन् ।

‘हाम्रो स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा सरकारले हडप्न खोजेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

काठमाडौँ उपत्यका मन्दिरै मन्दिर र जात्रैजात्राको ऐतिहासिक नगरी रहेको भन्दै प्रधानले सरकारले ऐतिहासिक नगरीको ऐतिहासिक र सास्कृतिक धरोहर भत्काएर कुरूप बनाउन प्रयत्नशील रहेको समेत आरोप लगाएका छन् ।

उनले संविधान बिपरित, जनचाहना बिपरितको गुठी सम्वन्धि विधेयकलाई तत्काल फिर्ता लिन, शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपमा घाइते भएका सबैको सम्पूर्ण उपचार व्यहोर्न र जनताको सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन समेत सरकारसँग माग गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा भएको गुठी जोगाउ अभियन्ताहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया