चर्चामा ‘हु किल्ड ओशो’

काठमाडौं । चर्चित दार्शनिक ओशोका बारेमा बहस गरिएको छ । हिन्दुस्तान टाइम्सका सम्पादक अभय वैद्यको खोजमूलक पुस्तक ‘हु किल्ड ओशो’ का सम्बन्धमा एक अन्तरसंवाद कार्यक्रमको गरिएको हो । ओशो तपोवनमा आयोजित कार्यक्रममा वैद्यले सन् १९९० जनवरी १९ का दिन भएको ओशोको मृत्युसँग सम्बन्धित विषय पुस्तकमा समेटिएको जानकारी दिए ।

तीस वर्षको खोजबाट निस्केका रहस्य पुस्तकमा समाविष्ट गरिएको जनाइएको छ । खोजका क्रममा ओशोको मृत्यु अस्वाभाविक र षड्यन्त्रमूलक भएको पाइएको उनले जिकिर गरे । ओशोको मृत्यु हुनुभन्दा करिब दुई वर्षअघि देखिनै उनलाई आफ्नो परिवार र आमासम्मलाई भेट्न नदिएको विषय पुस्तकमा उल्लेख गरिएको पत्रकार वैद्यले बताए ।ओशोको मृत्युका दिन पनि नाक कान घाँटीका डाक्टर गोकुल गोकानीलाई षडयन्त्रमूलक रूपले मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको अन्तर्वार्तासमेत उक्त पुस्तकमा समेटिएको छ ।

विदेशीले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाइ ओशो आश्रमको सम्पत्ति हडप्न षड्यन्त्र गरेको तथ्यसमेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार वैद्यबाट उनको मृत्युका बारेमा प्रस्तुत गरेका तथ्य सुनेपछि थप स्पष्ट भएको बताए । ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभई हत्या नै भएको भनेको विषयलाई वैद्यको पुस्तकले बल प्रदान गरेको बताए ।

प्रतिक्रिया