मस्कोमा सुष्माको एकल प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं कलाकार सुष्मा राजभण्डारीको १६औँ एकल चित्रकला प्रदर्शनी रूसको राजधानी मस्कोमा भएको छ । ७ जुनदेखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’ को अवसर पारेर गरिएको उक्त प्रदर्शनीको उद्घाटन रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले गरे ।

प्रदर्शनीमा एनआरएन रूसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिव डा.बद्री के.सी, पूर्वअध्यक्ष दिनानाथ राजभण्डारी, लगायत नेपाल तथा अन्य देशका विभिन्न संस्थाबाट आएका प्रतिनिधिको उपस्थिति रहेको कलाकार राजभण्डारीले जानकारी दिइन् । उनले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखेर कला प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

उनले भनिन्, ‘नेपाली कलाकार जुनसुकै देशमा गए पनि आफ्नो देशको पहिचान राख्न सक्षम छन् । साथै आपसी सम्बन्धलाई अझ मजबुत पार्न कलाकार र तिनका सिर्जना निकै उपयोगी नै हुन्छन् । साथै विदेशी कलाकारका कला अवलोकन गरेर नयाँ–नयाँ कुराहरू सिक्न पाउने अवसर पनि हुन्छ ।’ नेपाल कला र संस्कृतिमा सम्पन्न भए पनि यसको यथोचित प्रवद्र्धन र विकासका लागि देश विदेशमा काम गर्नुपर्ने आवश्यकता रहेको उनले सुनाइन् ।

उक्त कार्यक्रममा राजदूत घिमिरेले नेपालबाट आएकी कलाकार राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताए । उनले यस्ता कार्यक्रमले दुई देशबीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिए ।

प्रतिक्रिया