पशुपतिनाथको सम्पत्तिमा रजाईं

हिन्दू तथा सनातन धर्मावलम्बीमा देवी, देउताबारे केही गलत कुरा बोले मात्र पनि ‘पाप’ लाग्छ भन्ने विश्वास गरिन्छ । देवी, देउताका सम्पत्ति अपचलन गर्ने त कुरै छाडौँ, मानिस देउतालाई रकम चढाएर आफूले गरेका ‘पाप’ को प्रायश्चित गर्दछन् । तर, यही देवी, देवताका नाममा रहेको सम्पत्तिले मोटाइरहेका पनि प्रसस्तै छन् । यसकै एउटा उदाहरण हो, पशुपतिनाथको सम्पति । जीवनमा एकपटक भए पनि पशुपतिको दर्शन गर्न देश, विदेशबाट भक्तजन आउने गर्दछन् । उनीहरूले पशुपतिनाथमा रुपैयाँ, पैसा चढाएर दर्शन गरी आफू ‘पाप’ बाट मुक्त भएको महसुस गर्दछन् । तर, यही पशुपतिनाथको सम्पति केही व्यक्तिले कमाउने थलो बनाएका छन् । यससम्बन्धी समाचार पनि विभिन्न पत्रपत्रिकामा असरल्ल भएर आइरहेका छन् । यति हुँदाहुँदै पनि सम्बन्धित संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी पाएको निकाय मौन छ । यिनले त ‘मह काढ्दा हात चाट्न पाए’झैँ केही गुलियो चाट्न पाएर मौन रहेका हुन सक्छन्, किनभने यी गोठाला न परे ! तर यहाँ सरकार र संसद्को पनि मौनता खतरनाक देखिएको छ ।

पशुपतिनाथकै नाममा रहेको र पशुपति विकास कोषको संरक्षकत्वमा रहेको बाग्मती पुल नजिककैको पाँच रोपनी जग्गा वार्षिक दुई लाख ५० हजार रुपैयाँमा तिलगंगा आँखा अस्पताललाई दिएको छ । प्रतिरोपनी वार्षिक ५० हजारका दरले पाँच रोपनी जग्गा ४९ वर्षलाई दिएको हो । जबकी पुलभन्दा पारिपट्टी रहेको त्यस्तै प्रकारको जग्गाको मासिक पाँच लाखको हाराहारीमा भाडामा दिए पनि कोषले भने कौडीको भरमा दिएको देखिएको छ । अस्पतालले वार्षिक रूपमा कोषलाई रोपनीको ५० हजारका दरले २ लाख ५० हजार बुझाउँदै आएको अस्पतालले स्वीकार गरेको छ । पशुपति कोषले परोपकारी संस्था भएकाले कम रकममा भाडामा दिएको बताउने गरे पनि सो आँखा अस्पतालमा करौडौंको विदेशी संघसस्थाको लगानी छ । परोपकारी संस्थालाई दिएको मान्ने हो भने पनि बिरामीले अन्य ठाउँभन्दा बढ्तै शुल्क तिर्नु परिरहेको छ । अर्को भनेको पशुपति धर्मशाला हो । धर्मशालाले नौ रोपनीभन्दा बढी जमिन ओगटेको छ । भव्य भवन छ, जसमा एक सय ८० पाहुना सुत्ने कोठा छन् । व्यवसायिक प्रयोजनका लागि सोही धर्मशालाका १८ वटा सटर छन् । यो धर्मशालाको वार्षिक आम्दानी सर्सर्ती हिसाब राख्दा पनि वार्षिक २४ करोड नाघ्ने देखिन्छ । तर, धर्मशाला ठेकेदारले वार्षिक ५१ हजार मात्र पशुपति विकास कोषलाई बुझाउँछन् भन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । हुन त, दुई वर्षअघि संसद्को विकास समितिले धर्मशाला कोष स्वयंले सञ्चालन गर्नुपर्ने निर्देशन दिएको थियो । तर, पनि त्यसको अवस्थाबारे चासो नराख्दा १९९९ सालदेखि एउटा व्यक्तिको ढलिमली रहँदै आएको छ ।

यी त भए देशको राजधानीमै रहेको संसारका हिन्दू धर्मावलम्बीले मानेको, देशको पर्यटन व्यवसायमा महत्वपूर्ण स्थान ओगटने नेपालका आराध्य देवता पशुपतिनाथको सम्पत्तिको कुरा । यस्तो सबैको आँखा पुग्ने महत्वपूर्ण स्थानको अवस्था त यस्तो छ भने अन्यस्थानको अवस्था के होला सहज अनुमान गर्न सकिन्छ । जनकपुरमा यस्ता मठ मन्दिरको सम्पति हिनामिना भएका महन्थहरूले नै आफ्नो नाममा गरेका समाचार आइरहन्छन् । कतिपय त अदालतसम्म पुगेका पनि छन् । एउटा भनाई छ ‘कुनै गाउँको चौकीमा इञ्चार्ज बदली भएसँगै त्यस क्षेत्रका चोर, फटाहा र तस्करहरू कोसेली बोकेर लर्को लाग्छन् ।’ आजसम्म जुनसुकै पार्टीको सरकार बने पनि यता ध्यान नजानु यस्तै ‘लर्को’ का कारण पनि हुन सक्छ । किनभने अर्बौ कुम्ल्याएकाले केही करोड बुझाउन ठूलो कुरा भएन । तर, संसद्मा त्यसमा पनि सार्वजनिक लेखा समिति जहाँ विपक्षी दलको सभापति हुने प्रचलन छ, त्यसको ध्यान नजानु आश्चर्यको विषय छ । सरकारका मन्त्री, प्रधानमन्त्रीलाई नजराना बुझाए पनि सिंगो संसद र संसदीय समितिलाई बुझाउन सम्भव छैन । त्यसैले संसद् र सम्बन्धित संसदीय समितिकै यतातिर ध्यान जानु आवश्यक छ । अन्यथा जनताले चुनेको सर्वोच्च संस्थाबाट पनि जनभरोसा उठ्न सक्छ, जसको परिणाम अहिले कल्पनासम्म गर्न सकिँदैन ।

प्रतिक्रिया