दैलेख । जिल्लामा तीन दिनदेखि विद्युत् आपूिर्त बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।
विद्युत् आपूर्ति नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको गरगरे भन्ने स्थानमा ६ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगार्इंले बताए । ‘ढलेको पोल बनाइसकेको छौँ’, प्रमुख बजगाइले भने, ‘रातानाङ्लासम्म विद्युत् सेवा आपूर्ति भएको छ, दैलेख तर्फको विद्युत् लाइन मर्मत गरिरहेका छौँ ।’
विद्युत् आपूर्ति नहुँदा दैलेखस्थित सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरू बन्द भएका छन् । यति मात्र नभएर व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयहरूले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् ।
दैलेखका आमनागरिक अघोषित रूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आमउपभोक्ताहरूको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिक रूपमा लोडसेडिङ नगरे पनि अघोषित लोड सेडिङ घण्टैपिच्छे हुने गरेको छ । घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आमउपभोक्ताहरू ग्रसित छन् । घण्टैपिच्छे झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आमउपभोक्ताहरूमा मात्रै होइन अत्यावश्यक सेवा क्षेत्रहरू अस्पताल, यातायात, सञ्चार लगायतका प्रभावित बन्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयको गुनासो छ ।
दैलेख
प्रतिक्रिया