१५६ पक्राउ, ८ हजार अनुपस्थित

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्र्तगत कोरियन भाषा परीक्षामा अर्काको नाममा परीक्षा दिने १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार र आइतबार चार सिफ्टमा सञ्चालित परीक्षामा काठमाडौं, ललितपुर र पोखराका विभिन्न परीक्षाकेन्द्रमा परीक्षा दिइरहेका नक्कली परिक्षार्थीलाई पक्राउ तथा निष्कासन गरिएको हो ।

वैदेशिक रोजगार विभाग अन्र्तगत इपिएस कोरिया शाखाका महानिर्देशक कृष्णप्रसाद खनालले अरूको नाममा परीक्षा दिन आएकालाई नियन्त्रणमा लिइएको तथा नियम विपरीत परीक्षामा सहभागी निष्कासित भएको जानकारी दिएका छन । उनले भने ‘अन्य परीक्षार्थीको नाममा परीक्षा दिइरहेको समयमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको घटनाको प्रकृतिको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’ परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्कासन गरिने शाखाले जनाएको छ ।

भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ७६ परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना मात्रै परीक्षामा सहभागी भएका छन् । परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भएको शाखाले जनाएको छ । परीक्षाका लागि ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ जना महिला परीक्षार्थीले आवेदन दिएका थिए ।

यो वर्ष उत्पादनमूलक क्षेत्रका लागि ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जना परीक्षार्थीले आवेदन दिएका थिए । परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाउँने व्यवस्था छ । नेपाली युवाको आकर्षक गन्तव्य बनेको कोरियाली रोजगारको लागि खुलाएको भाषा परीक्षामा आवेदन दिने युवाको संख्या वर्षेनी बढ्दै गएको छ ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको शाखाले जनाएको छ । सन् २०१८ मा भाषा परीक्षामा ७ हजार नौ सय ९६ जना छनौट भएका थिए । हालसम्म कोरियामा ५८ हजार ७ सय ९ जना नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।

प्रतिक्रिया