अर्थबजार

‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक

सौर्य अनलाइन २०७६ जेठ २६ गते १८:२३ मा प्रकाशित

काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेवाग्राहीमुखी योजना बजारमा ल्याएको छ । कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहेको बताए । उनले भने, ‘सेवाग्राहीहरूको यही चाहनाअनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो ।’ उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बीमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता हो ।

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमांक रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ । यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।

बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ । बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पूरा बीमांक रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ ।


एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमांक बराबरको रकम प्रदान गरिनेछ ।

यो योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

करिब ३२ प्रतिशत बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रहेको छ भने लगानी ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । १ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय