मजदुरलाई शोषण गर्ने कम्पनीमा तालाबन्दीको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरूमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकांश व्यावसायीले मजदुरमाथि शोषण गरिरहेको बताएका हुन् । उनले नियमसंगत कार्य गर्ने श्रमिकलाई कानुन अनुरूपको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गरे ।

सरकारले नै कानुन उल्लघन गरेको आरोप लगाउँदै अध्यक्ष पराजुलीले श्रमशोषण गर्ने सरकारी निकाय र व्यावसायिक संस्थामा तालाबन्दी गरिदिने चेतावनी दिए । अध्यक्ष पराजुलीले भने, ‘नेपाल एयरलायन्स लगायत पर्यटन क्षेत्रका सरकारी निकायमै मासिक करिब ६÷७ हजार रुपैयाँ परिश्रमिक दिइन्छ । यो लज्जास्पद विषय हो । हामी मजदुरमाथि शोषण गर्ने सरकारी संस्था होस् या व्यावसायिक कम्पनीलाई अब छाड्ने अवस्थामा छैनौँ । मजदुर मार्ने काम भयो भने हामी हात ठाडो पार्न बाध्य हुनेछौँ । कम्पनीमा तालाबन्दी गर्न बाध्य हुनेछौँ ।’ आउटसोर्सिङ कम्पनीले हाल पर्यटन क्षेत्रमा दादागिरी गरिरहेको भन्दै ती सबै संगठनको दादागिरीलाई ठेगान लगाइने बताए ।

अध्यक्ष पराजुलीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मजदुरको सहयोग बिना पर्यटन क्षेत्र सफल हुन नसक्ने भन्दै संगठनले पर्यटन क्षेत्रमा अप्रिय अवस्था नआओस् भन्नका लागि बेलैमा सोच्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले प्रश्न गर्दै भने, ‘भ्रमण वर्षमा मजदुरको भूमिका के हो ? यदि मजदुरले ट्रेकिङ गर्न छाडिदिए भने, हिमाल चड्न छाडिदिए भने के भ्रमण वर्ष सफल होला ? हामी वेलैमा मजदुरको सहभागीतासहित नीतिगत र अन्य व्यवस्थामा लाग्न सरकारको ध्यानाकर्षण गराउँदछौँ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन (जिफन्ट) का महासचिव जनक चौधरीले ट्रेड युनियन अधिकारका लागि मुख ताक्ने होइन नेतृत्व गर्न र नीति बनाउने तहमा पुग्न पर्यटन श्रमिकहरूलाई निर्देशन दिए । कार्यक्रममा नाट्टाका अध्यक्ष सिएन पाण्डेले श्रमिकको कार्यक्षमता वृद्धि गर्न सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने संस्थाको योजना सुनाए । अध्यक्ष पाण्डेले मालिक र श्रमिकबीच विभेद हुने अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए । कार्यक्रममा जिफन्टका कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठ, उपाध्यक्ष दिपक पौडेल, प्रदेश सांसद बेलीमाया घले, टानका उपाध्यक्ष जीवन थापामगर, एनएमएका उपाध्यक्ष माया शेर्पा, क्युपेकका अध्यक्ष नरनाथ लुइटेल लगायतले सरकार, व्यावसायी र श्रमिक संगठनका व्यक्तिहरू एकै ठाउँमा बसेर पर्यटन श्रमिकका समस्याहरू समयमै समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया