‘गोहो’ परिचर्चा

चितवन । लेखक जिके पोखरेलद्वारा लिखित कथासंग्रह ‘गोहो’ को परिचर्चा गरिएको छ । अक्षर समूहले चितवनमा शनिबार आयोजना गरेको अन्तक्र्रियामा समीक्षकद्वय डा. एकनारायण पौडेल र रमेश प्रभातले पुस्तकमाथि टिप्पणी गरे ।

गोहोमाथि बोल्दै समीक्षक डा. पौडेलले भने, ‘सम्पूर्ण किताब एक बसाइँमा पढेर सकिन्न । तर, हरेक कथा एक बसाइमा पढेर सकिने खालका छन् ।’ कथामा पारम्परिक बिम्बका साथै लेखकले आफैँले सिर्जना गरेका बिम्बको राम्रो प्रयोग भएको उनले जिकिर गरे । उनले कथा संग्रहमा रहेका प्रायः कथाले द्वन्द्वकालीन समयका घटनाक्रमलाई उठान गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अर्का समीक्षक प्रभातले सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाले नेपाली समाजको परिदृश्यलाई केलाएको बताए । उनले भने, ‘संग्रहमा रहेका कथाहरू पठनीय र समाजपरक छन् ।’

‘गोहो’ले विगतका दशकको समकालीनतालाई उधिनेको बताउँदै उनले भने, ‘हामीले निकट विगतको दशकमा जुन जीवन बाँचेर आयौँ त्यसको राम्रो चित्र छ ।’ उनले कथामा सामाजिक जीवनलाई द्वन्द्वले पार्ने असर कतै न कतै आएको सुनाए । उनले थपे, ‘कथामा नेपालमा चलेको सशस्त्र जनयुद्धका विषयलाई चर्चा गरिएको छैन । कथामा प्रजातान्त्रिक सोच हाबी भएको हो कि भन्ने अनुभव हुन्छ । अर्थात् जनयुद्धका सकारात्मक प्रभावमाथि कथाकार मौन छन् ।’

उक्त कृतिमा ईश्वर कँडेल, सुरेन्द्र अस्तफल, विजय विश्वकर्मा र सन्ध्या सापकोटाले कथाले नेपाली समाजको समकालीन परिवेशलाई कलात्मक रूपमा उठान गरिएको बताए । कथाकार पोखरेलले नेपाली समाजलाई कथाका माध्यमबाट चित्रण गर्ने जमर्को गरेको बताए । लेखन र सम्पादन कार्यमा सक्रिय पोखरेल २०६४ सालदेखि कथा लेखन थालेका हुन् । उनका यसअघि जून निदाएको रात (२०६९) र स्वाभिमानको चिता (२०७०) कथासंग्रह प्रकाशित छन् । उक्त कथा संग्रहमा १० कथा समावेश छन् ।

प्रतिक्रिया