धुर्मुस–सुन्तली र डोजर

रङशाला बन्ने बनाउने र आम नेपालीको हौसला आँफैमा सकारात्मक त हो नै त्यसमा पनि देश विदेशमा रहेका नेपालीको आर्थिक सहयोग मिसिएपछि यो सार्वजनिक महत्वको र संवेदनाको विषय पनि हो । प्रशंसा, चुनौती र विकासको यो मोडेलबारे स्वाभाविक छलफल र धारणा आउने नै भए । गत हप्ता स्थानीयको संलग्नतामा डोजर चल्यो, तार बार भत्काइयो र यस्तो हर्कतबारे तीव्र आलोचना र प्रशासनिक कार्वाही अघिबढेको छ । मिलापत्र पनि सँगसँगै अघि बढेको छ । विवादको बहाना के हो, आ–आफ्नै मत छन् ।

धुर्मुसले रुँदै बयान गरे–‘यो कमिसन र ठेक्का वा अन्य फाइदाको लागि आफूलाई दवाब दिएको र बाटोको विवाद भएका कारण बार भत्काएको हो ।’ स्थानीयले भने– ‘ सुकुम्बासी बन्ने डरले बाटोबारे धेरै पटक बार्ता गरेको तर समाधान नहुँदा आक्रोशले यो गल्ती गर्न पुगेको हो ।’ धुर्मुस रोए, सुन्तली जंगिईन् । म तपाईंलाई विकासको दर्शनबारे थोरै समीक्षा गर्न अनुरोध गर्छु । यो डोजरले त्यति भौतिक नोक्सानी गरेको छैन जति सांकेतिक रूपमा विकास मोडेललाई गरेको छ । छोटोमा भन्दा सबै चिज सबैका लागि बराबर संवेदनाका हुँदैनन् ।

धुर्मस रोए, सुन्तली जंगिईन् । म तपाईंलाई विकासको दर्शनबारे थोरै समीक्षा गर्न अनुरोध गर्छु । यो डोजरले त्यति भौतिक नोक्सानी गरेको छैन जति सांकेतिक रूपमा विकास मोडेललाई गरेको छ । छोटोमा भन्दा सबै चिज सबैका लागि बराबर संवेदनाका हुँदैनन्

डोजरले रङशाला नै किन छोयो त ?
अब अलि गहिराइबाट विश्लेषण गराँै, योभन्दा अघिल्ला नमुना परियोजनामा किन यस्ता विवाद आएनन् ? किन विरोध थिएन ? के बाटो मात्र कारण थियो त ? किन कमिसन मागेनन् ? मलाई लाग्छ, जुन दिन स्थानीय देखि केन्द्रस्तरका राजनीतिक शक्तिको पक्षधरता र विकासको प्रभाव र त्यसको राजनीतिक लाभ जोडिन पुग्यो, कतिपयले भनेका थिए– ‘अब यो रंगशाला या त बन्दैन वा विवादमा बन्छ वा धुर्मुस सुन्तलीको छबी बिगार्ने भो ।’ ठुलो लगानी भनेको जग्गा थियो, जग्गा सरकारसँग थियो र सरकार राजनीतिक रङको हुन्छ । धुर्मुस सुन्तलीले आफँै यो रोजाइ लिनु स्वभाविक थियो । तर, यो रोजाइले रंगशालाभन्दा लामो र समाजसेवा भन्दा पर तन्काउँथ्यो फाउन्डेसन्को काममा मिसिएको राजनीतिक रङ ।

सुन्दरलाल, चण्डी प्रसाद, गौरादेवीहरू, यी नाम भारतको गढ्वालका ७०को दशकका प्रख्यात नाम जसले ‘चिप्को आन्दोलन’ चलाए, त्यहाँबाट सापट लिएको छु । विकासका काममा स्थानीयलाई विकास विरोधी भन्नु पर्ने दिन आउनु पहिले अभियन्ताहरूले सोच्नै पर्ने केही महत्वपूर्ण पक्ष छन्, जो ‘चिप्को आन्दोलनले’ सिकायो । आफ्नो वनजंगल विनास हुने देखेपछि , पर्यावरणको विनासले मानव जीवनमा र उनीहरूको मनोभावना माथि आघात पुग्ने देखेपछि गढवाली महिला पुरुषले आफ्नो जंगल बचाउन रूखहरूमा अंगालो हालेर चिप्केपछि यो आन्दोलनले चिप्को आन्दोलनको रूप लियो ।

सरकारले विकासको नाममा ठेकेदारलाई रूख काट्न आदेश दिएपछि मान्छे रूख अंगालो हाल्न पुगे । यो सत्याग्रहमा उनीहरूले भने– ‘रूख काटिनु पहिले हामीलाई काट’। यो विरोधको मोडेलले भारत मात्र होइन धेरै देश लाई सांकेतिक शिक्षा र विकासबारे सोच्ने तरिका फेर्न सघायो । त्यसकारण परीयोजनाको भौतिक पक्षभन्दा पहिले, वातावरणीय पक्ष आँकलन जरुरी भयो ।

रंगशालाको निर्माणको काम थालनीसँग सामाजिक, वातावरणीय प्रभावको पक्ष जरुर विश्लेषण भयो होला । त्यति ठुलो परीयोजनामा जरुर यो कुरा जोडिन्छ । धारणा, वक्तव्य, प्रचारबाजी र प्रतिक्रिया सुन्दा मलाई शंका लाग्यो, कतै तपाईंहरूले यो पक्ष नजर अन्दाज त गर्नु भएन ? अक्सर शक्ति र सत्ताको बढी पहुँचले, साना मान्छेलाई नजरन्दाज गर्ने गल्ती हुन्छन् । अथवा कतै भावना र सदाशयताको मौसमी सुविधा मात्रा हेरियो कि ? आफू राम्रो छु, सबैले राम्रो भनेका छन् भन्ने सोच्दा, ठूला परियोजनाका ठूला प्रभावभित्र साना मान्छेका साना चासोहरू सुनिएनकी ?

विकास जब भौतिक आर्थिक र यान्त्रिक पक्षलाई मात्र केन्द्रमा राखेर सोचिन्छ, तब त्यसले मानवीय समस्या र प्रतिक्रियासँग जुध्नु पर्छ । आज धेरै पश्चिमा देशले भोगेको जटिलता यही हो । मान्छेलाई आफू सुकुम्बासी हुन्छु कि भन्ने पिरभन्दा बढी रंगशालाको माया नलाग्न सक्छ । हरेक विकासको केन्द्रमा आफ्नो कुनै न कुनै भलाइ देख्नु सामाजिक स्वभाव हो र

जब हामी विकासलाई आफ्नो आँखा बाट हेर्छा, तब हामी अरूलाई आफ्नो बुझाइको आवश्यकता लाद्न खोज्छाैँ, मान्छेहरू विकास इन्कार गर्छन् । किनकि आवश्यकता सापटी लिँदैनन् मान्छेहरू । सपनाको साझेदार बन्नु सजिलो छ, आवश्यकता अरूबाट अनुवाद गराउन गाह्रो छ । तपाईंका अघिल्ला परियोजनाहरू आवश्यकता थिए । तर, रंगशाला रोमाञ्चक सपना । सपनामा साँघुरो हुन कोही चाहदैनन्, सबै रमाउँन चाहन्छन् । समाजसेवाको आफ्नै दायरा छ, समाजले कसरी प्रतिक्रिया दिन्छ त्यसको पनि सापेक्षता छ । सायद समाजसेवा छोडेर सपना र आदर्शको राजनीतिमा पुगेपछि समाज पनि वार्ता र लेनदेनको टेबलमा आउँछ ।

डोजर एउटा नकरात्मक घटनाको प्रतिबिम्ब हो, खराब प्रतिक्रिया हो र दण्डित हुनु पर्छ । तर, देशको लागि आदर्श काम गरेर देखाउने अभियान स्वयम् पनि समाजभन्दा एक कदम बढी सोच्ने हुनु पर्छ । यो घटनापछि काम स्थगित गरेको र माफी माग्नु पर्छ भन्ने सर्त राखी रहँदा, फुलमाला र जयजयकार गर्ने तिनै मान्छे थिए भन्ने नबिर्सनुस् । ल ती विकास विरोधी नै मानेर जेल पठाइए, त्यसो गर्दा गौतम बुद्ध रंगशाला करुणा र प्रेमको प्रतीक हुन्छ ? मान्छेको संख्याले सधैँ सबै चिज अर्थपूर्ण बनाउँदैन,थोरै मान्छे होलान् अहिले तपाईंलाई बेठिक भन्ने, तर, ती सबै प्रशंसकभन्दा मेरो आलोचनात्मक सुझाब काम लाग्न सक्छ ।

म व्यक्तिगत रूपमा यस्तो दान र कल्याणमुखी, विकास मोडेल ठीक मान्दिनँ, किनकी मान्छेले विकासको अधिकारको लागि सहिद बन्नु परेको थियो र त्यो विकास आजको सरकारको कर्तव्य र जागिर हो । एक दशक पहिले मैले धेरै माग्ने काम गरेको थिएँ, गाउँमा गयो माग्यो बुझायो हिड्यो, तर मैले चार वर्ष मागेकोभन्दा बढी फरक एक रातमा भयो जब रातो कलम समात्नेले एउटा सिग्नेचर गरेर त्यो विषयलाई नागरिक अधिकार बनाइदिए ।

म भगवान बन्नबाट जोगिएँ, मान्छे मतिर फर्किनबाट जोगिए । आफँैतिर र सत्तातिर फर्कन थाले । तर, नागरिकको तर्फबाट गरिने रचनात्मक काम सर्वथा धन्य नै हुन्छ । मिहीन तरिकाले हेर्नुस, केही कर्कट पाता कुच्चिएर केही हुन्न, फेरी बनाउन थाल्नुस् । राम्रो मान्छे हुनुहुन्छ, राम्रो रहनुस् । मान्छेभन्दा एक फिट माथि उठाइदिने र भगवान बनाइदिनेसँग जोगिनुस् । किनकी भगवानलाई मान्छेले काम गर्न दिँदैनन्, निष्क्रिय सालिक बनाइदिन्छन् ।

प्रतिक्रिया