भीमदत्तनगर । दुई दिनअघि आएको भीषण हावाहुरीबाट पीडित स्थानीयवासीलाई सहयोग गर्न कञ्चनपुरका स्थानीय तहले राहत कोष स्थापना गरेका छन् । विपद्मा परेका स्थानीयवासीलाई राहत तथा पुनःस्थापनाका लागि यहाँको कृष्णपुर नगरपालिकाले एक करोड बराबरको आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेको हो ।
नगरप्रमुख कर्णबहादुर हमालले उक्त कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिले एक महीनाको सुविधा बापतको रकम जम्मा गर्ने निर्णय गरेको बताए । ‘नगरमा कार्यरत कर्मचारीबाट भने तलबको न्यूनतम २५ प्रतिशत अनिवार्य र त्योभन्दा बढी स्वैच्छिक रूपमा आपतकालीन कोषमा जम्मा गराउने निर्णय भएको छ । नगरप्रमुख हमालले भन्नुभयो–‘वडास्तरबाट क्षतिको विवरण संकलन हुदैछ ।’
सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशी र इञ्जिनीयर चुडामणि कलौनीले एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी बेदकोट नगरपालिकाले पनि नगरभित्र हावाहुरीका कारण घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति १० हजार उपचार खर्च दिने घोषणा गरेको छ । क्षतिको विवरण संकलन गर्न टोली नै परिचालन गरेको उक्त नगरपालिकाले क्षतिको विवरण संकलन भएपछि सुदूरपश्चिम प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने गर्ने जनाएको छ ।
त्यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि क्षतिको विवरण संकलन गरिरहेको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए । ‘क्षतिको विवरण एकिन गरेर राहतका लागि पहल गछौँ ।’ उहाँले भने, ‘विद्यालयदेखि स्थानीयवासीका घरसमेत क्षति भएका छन् ।’ भीमदत्त नगरपालिकामा पनि हावाहुरीले क्षति पु¥याएपछि शुक्रबारदेखि नै नगरप्रमुख सुरेन्द्र विष्टसहितको टोली स्थलगत अनुगमनमा निस्केको छ । उक्त नगरपालिकाले पनि प्रारम्भमा सबै वडाध्यक्षहरूलाई आ–आफ्नो वडाभित्रको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको थियो ।
त्यसैगरी बेलौरी, पुर्नवास नगरपालिका, लालझाँडी र बेल्डाँडी गाउँपालिकाले पनि क्षतिको विवरण संकलन गर्न लागेका छन् । हावाहुरीका कारण कञ्चनपुरमा घाइते भएका २३ मध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् । दुई दिनदेखि अवरुद्ध विद्युत् सेवा आंशिक रुपमा सञ्चालन भएको छ ।
कञ्चनपुरमा हावाहुरीले पाँच करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारीले पनि जिल्लाभरको क्षति विवरण संकलन गर्न सुरक्षा संयन्त्र खटिएको जानकारी दिए ।
प्रतिक्रिया