जोगाइँदै सती घाटु

बागलुङ । चिजा विक, सीमा पुन र कुमारी राना घाटुनी थिए । एक महिनासम्म चलेको सती घाटुमा उनीहरू नाचे । घाटुलाई बुधबार विधिवत् विर्सजन गर्नाका साथै घाटुनीलाई गाउँलेले बिदाइ गरे ।

आउँदो माघ महिनासम्मलाई गलकोट नगरपालिका–१० पाण्डवखानीबाट घाटु पनि बिदा भयो । वर्षेनी माघमा फुक्ने(सुरु गरिने) घाटु जेठको तेस्रो साता समापन अर्थात सेलाउने गरिन्छ ।

‘छ महिनाका लागिमात्र सती घाटु फुक्छ’, घाटु संरक्षण समितिका अध्यक्ष गिरिप्रसाद थापाले भने, ‘अब माघ भन्दाअघि घाटु नचाउन मिल्दैन ।’ यो वर्षको वैशाख कृष्ण औँशीदेखि पाण्डवखानीमा घाटु सुरु भएको थियो । छ महिनाका लागि फुके पनि पाण्डवखानीमा मुख्यतः वैशाख–जेठ महिनामा सती घाटु देखाइन्छ । घाटुका गुरुबासमेत रहेका उनले भने, ‘यो वर्ष झण्डै एक महिना घाटु चल्यो ।’ घाटु विर्सजनमा विधिवत् पूजाआजा पनि गरिन्छ ।

बिदाइपछि घाटुनीलाई बाटोमा एक्लै हिँड्दा बाधा नहोस् भन्ने कामना गरिन्छ । ‘देवीदेउताले छोएका घाटुनीको शरण पर्ने र विधिवत् पूजा गर्ने काम हुन्छ’, थापाले भने, ‘बिदाइका वेला कारुणिक गीत गाइन्छ, नाच पनि त्यस्तै हुन्छ ।’ नाच्ने युवतीलाई घाटुनी भनिन्छ । तीनदेखि पाँच–छ जनासम्म घाटुनीले नाच्ने गर्छन् । तत्कालीन पर्वते राजा पर्शुराम र रानीको जीवनकथामा आधारित सती घाटुलाई गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ ।

युद्धमा राजाको वीरगतिपछि रानीको बिलौना गीत र नृत्यमार्फत् घाटुमा अभिव्यक्त हुनेगर्छ । राजाको वियोगमा मूर्छित् रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतिकको रूपमा घाटुनी नृत्य गरिन्छ ।

गीतकै सुरमा घाटुनीहरूको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरूलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीत गाउँछन् । घाटुनीहरू गीतको सुरमा लठ्ठिएर नाच्छन् । बिहान सुरु भएको घाटु मध्यरातमा मात्र पूरा हुन्छ । नृत्यकै क्रममा आँखा पूरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ । सती घाटुमा कथाअनुसार अइरा, सतीलगायत विभिन्न खण्ड हुने घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनले बताए ।

सती घाटु अवलोकनका लागि सर्वसाधारण पाण्डबखानी पुग्छन् । पाण्डबखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा भरतबम मल्लले खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनिसँगै लिएर गएको बताइन्छ ।

प्रतिक्रिया