आलु बीउको शीतभण्डारबाट कृषक लाभान्वित

स्याङजा । आलु बिनाको तरकारी वा अचार के मिठो होला र ? अधिकांश भान्सा कोठामा दिनहुँ पाक्ने तरकारी हो आलु । जता मिसाए पनि मिल्ने परिकार भनेर चिनिने सब्जी आलु हो । आलु उत्पादन हुने सिजन फागुन महिना हो । मंसीरमा लगाएर फागुनमा प्रतिफल पाइने आलुको व्यवस्थापन गर्न नसके कुहिएर जाने समस्या हुन्छ । त्यसैले सिजनको ३—४ महिना मात्र पुग्ने गरी आलु लगाउने प्रवृति बढेको छ । वर्षभरी पुग्ने आलु वा व्यवसायिक आलु खेतीमा कृषकहरूको ध्यान पुगेको छैन । यसको कारण हो ४ महिना पछि आलु कुहिने समस्या । तर स्याङजामा आलु वर्षभरी नै बचाएर राख्न सकिने प्रविधिको विकाश भएसँगै यहाँका कृषकहरू लाभान्वित भएका छन् ।

गल्याङ नगरपालिका ११ स्थित जिमुहामा खाने र बीउ आलुको शीतभण्डार गर्ने भण्डारण कक्ष सञ्चालनमा आएपछि यहाँका कृषक लाभान्वित भएका हुन् । विश्व विकाश बैकको सहयोगमा एक करोड सत्र लाखको लागतमा आ.व ०७५–०७६ मा निर्माण सम्पन्न भई सेवा प्रदान गर्न थालिएको हो । नेपाल सरकार सिंचाई तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र आँधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्थाको सहभागितामा मझौला शीत भण्डारण गृहको निर्माण गल्याङ नगरपालिका स्थित जिमुहामा भएपछि खाने आलुदेखि बीउ आलुसम्म यहीँ भण्डारण हुन थालेको छ ।

एक सय ५० मेट्रिक टन श्रमता रहेको भए पनि अहिले प्रचार प्रसारको अभावमा जम्मा ९० मेट्रिक टन मात्र भण्डारण गरिएको संस्थाका कोषध्यक्ष चक्रपाणि कंडेलले बताए । कंडेलले भने ,‘ पहिलो वर्ष थहा नपाएर कृषकले आलु ल्याउन सकेनन् , आगामी वर्ष एक सय पचास मेट्रिक टननै भण्डारण गर्छौं ।’ आलु खाँदा वा बीउ आलु किन्दा ठूलो रकम भारत गएकोप्रति चिन्ता व्यक्त गर्दै कंडेलले भने , ‘हामी कृषि प्रधान देशका कृषक हौँ । अब हाम्रै भूमिको आलु खाने र स्थानीय बीउ लगाएर आलु बीउमा आत्मनिर्भर हुन आवश्यक छ ।’

प्रति बोरा ३५० रुपैयाँमा ७ महिनासम्म यस शीत भण्डारमा आलु राख्न सकिने व्यवस्था भएपछि छिमेकी जिल्ला पाल्पाका समेत कृषक लाभान्वित भएका छन् । गत वर्ष यहाँबाट देशका विभिन्न जिल्लामा आलुको बीउ निर्यात भएको संस्थाका अध्यक्ष रुमलाल कंडेलले बताए । अब आफ्नै बारीमा उत्पादन भएको आलु र आलुको बीउको प्रयोग गर्न सके भारत जाने गरेको ठूलो रकम स्वदेशमा नै रहने देखिन्छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया