काठमा बुद्ध खोज्दै

नेपाली ललितकलाको विकासको लागि सहरमा मात्रै कार्यक्रम गरेर नपुग्ने भएकाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले रुपन्देहीका कलाकार तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गोविन्द चौधरी र यामबहादुर थापासँग प्रदेश ५ मा मूर्तिकला कार्यशाला गर्नुपर्ने बताउनु भयो । सोही कुरालाई मनन् गरी प्राज्ञ चौधरी र प्राज्ञ थापा कार्यशाला स्थल र सहआयोजकको खोजीमा लाग्ने क्रममा देवदह बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना र ड्रिम देवदहका अध्यक्ष सामाजिक अभियन्ता सिद्धिचरण भट्टराईको सक्रियतामा मिति २०७६ जेठ ८ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णयअनुसार कार्यशालाको प्रक्रिया अगाडि बढ्यो ।

सोही कार्यक्रमको लागि मनको उमंगसहित ८ गते बिहानै कलाकार राजन काफ्ले सरलाई फोन गरेर भेट्ने ठाउँ सोधी बागबजार मेरो कोठाबाट निस्किएर रत्नपार्कबाट माइक्रोबस चढी बसपार्कतर्फ लागेँ । मेरो पहिलो गन्तव्य नजिकिएकाले गंगबु पुग्दा १५ गाडीभाडा तिरेर बिजी मल, बसपार्क झरेँ ।

झर्दाझर्दै कार्यशालामा सहभागी हुन आतुर पाइलाहरू चाल्दै गरेकी कलाकार अनमारी तामाङसँग पहिलो भेट भयो । त्यस्तै दोश्रो भेट कलाकार राजन काफ्ले र तेश्रो प्रथमराज बज्राचार्यसँग । गाडी छुट्ने समय बिहान ६ बजे भने पनि करिब ६ः४० मा बसपार्कबाट गाडी छुट्यो । हामी बसपार्कबाट गाडी चढ्नेको मन जति आतिएको थियो । त्योभन्दा बढी कलंकीमा हामीलाई पर्खिनेको अताल्लिएका थिए ।

हामी करिब ७ बजे कलंकीमा पुग्यौँ । प्रतिक्षारत कलाकारलाई देख्दा भोक प्यासले छट्पटिएको जस्तो भान भयो । उहाँहरू कलाकार भुवन थापा, राजु पिठाकोटे, लक्ष्मण भुजेल, कुमार थापा र विशाल सारुलाई भेट्दा मलाई आफू पूर्ण भएको अनुभव भयो ।

हाम्रो यात्रामा अभिभावककोे भूमिकामा हुनुहुन्थ्यो राजन काफ्ले । एक काटुन पानी गाडीमा राखेपछि हाम्रो रमाइलो यात्रा सुरु भयो । भुवन थापा, राजन काफ्ले, राजु पिठाकोटे र लक्ष्मण भुजेलले हिजोको मनमोहक काठमाडौंदेखि अहिलेको धुलाम्य काठमाडौंका कुराहरू सविस्तारमा गफिनु भएको सुन्दा अलिक ढिला जन्मिएको महसुस हुन्थ्यो ।

जीवन यात्रा न हो यात्रा धेरै गरियो । तर, त्यो दिनको यात्रामा गाडी कुदाई र जंगलका रूखको म्याराथुनको कुनै प्रवाह थिएन । उहाँहरू आफ्नो बालापनको स्मरण गर्दै भन्नुहुन्छ । ३/४ कक्षा पढ्दा पाइन्ट लगाएको, ५÷६ कक्षा पढ्दा चप्पल लगाएको, आफैँ बनाएका खेलौनाहरू खेलेको, कक्षाकोठामा सुकुल बिच्छाएर पढेको, भागेर हिडेको यावत कुराहरू सुन्दा साँच्चै बचपन फेरी फर्काउन मन लाग्थ्यो । सुरु सुरुमा चप्पल लगाउँदा चप्पलले डिस्टब गरेजस्तो अनुभव हुन्थ्यो भन्नुहुन्थ्यो राजु पिठाकोटे सरले । त्यस्तै हाफ पाइन्ट लगाउने बानी परेकोले पहिलोपटक पाइन्ट लगाउँदा लाज लागेर पाइन्छ फोल्ड गरेर लगाउनुभयो रे ! हाल बजारमा थरिथरिका खेलौनाहरूले दिने आनन्दभन्दा आफँै बनाएर खेलेको खेलको स्वाद मीठो हुन्थ्यो ।

यिनै सम्झनाका मीठा पोकाहरू खोल्ने क्रमसँग बीचबीचमा जोक भनेर सुनेर सुनमा सुगन्ध थपिन्थे । सायद कलाकारिताको कार्यालयमा काम गरेर पनि होला, सामान्य मानिसभन्दा कलाकार र साहित्यकारको सोचाइ अलिक फरक लाग्छ । त्यसमा पनि मूर्तिकारसँगको सहयात्रा, सहकार्य मलाई खै किन हो अलिक विशेष लाग्छ । यसरी यात्रा गर्दै गर्दा धार्के आइपुगिएछ । त्यहाँ नास्ता खाइवरी पुनः गाडीमा बस्यौँ ।


काष्ठमूर्तिकला सिर्जनाको लागि निस्कनु भएका कलाकार उहाँहरू देशदेखि विदेशसम्मका कला, कला सिर्जना गर्ने माध्यम, औजार, विचार र देशगत हेराइको गहिराई विषयमा गफ गर्दै आफ्नो, आफ्नो देश र यहाँका कलाकारको विषयमा निकै छलफल र टिकाटिप्पणी गर्नुभयो भने मेरो मनमा कला विकासको लागि गाउँ–गाउँबाट कलाको जन–लहर चल्नुपर्छ, चलाउनुपर्छ भन्ने लागेको थियो तर भन्न सकिनँ ।

गाडीको रफ्तार हेर्दा लाग्थ्यो, ऊ आफ्नी प्रियसीलाई भेट्न लम्किरहेछ, कुदिरहेको छ । तराईतिर प्रवेश गर्दा सूर्यको राप र गाडीको गतिमा प्रतिस्पर्धाजस्तै देखिन्थ्यो । जति जति अगाडि बढ्दै गयो उति–उति आगोको ज्वाला नजिक पुगेजस्तो अनुभव भइरह्यो । यसरी तातो हावालाई चिर्दै करिब १ः३० बजे हामी रुपन्देहीको खैरेनीमा झ¥यौँ । खैरेनी पुग्दा हामीलाई त्यहाँको गर्मीले गर्लम्म अँगालो हाल्यो, मैले सोचेँ अब फुत्किन गाह्रो छ ।

कार्यशाला स्थल पुग्न खैरनी बजारबाट करिब १ दशमलव ५ किमी भित्र जानुपथ्र्यो । प्रतिव्यक्ति रु ३० तिरेर हामी बुद्ध सामुदायिक वनतर्फ बढ्यौँ । कार्यशाला स्थल नजिकिँदै गर्दा माइकमा सुनियो त्यहाँ भव्य कार्यक्रम भइरहेको रहेछ । जाँदै गर्दा उद्घोषकले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख लालकाजी लामालाई आफ्नो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु भनेपश्चात विभागीय प्रमुखले बुद्ध सामुदायिक बनलाई सहआयोजक भएकामा धन्यवाद दिँदै आउँदै गरेका मूर्तिकारलाई स्टेजबाटै स्वागत गर्नुभयो ।

कार्यशाला स्थलमा हामीले शरीरसहित भारी बिसाएर हेर्दा जंगल विवाहमण्डपजस्तै सजिएको, दुलही हेर्न झुम्मिए आफन्तहरू, मूर्ति बनाउनको लागि ल्याएका काठहरू ब्यूटिपार्लरभित्र पालो कुरेर बसेकी युवतीजस्तै लागिरहेको थियो । त्यहाँ सबैजना मानिसका आँखामा कलाकारले आफ्नो भूमिमा पाइला टेकेकोमा गौरवान्वित भएको भाव देख्न सकिन्थ्यो ।
काठमाडौंबाट पुग्ने कलाकारहरू बाहेक अन्य ठाउँबाट आइपुग्ने कलाकारहरू बिहानै कार्यशाला स्थालमा पुगेको देख्न सकिन्थ्यो । त्यहाँ प्राज्ञ लालकाजी लामा, प्राज्ञ गोविन्द चौधरी, प्राज्ञ यामबहादुर थापा, बुद्ध चौधरी, भीम श्रेष्ठ, दिनेश्वर महतो, हरिराम अधिकारी, केडी याखा र हरिबहादुर थापा बयम्बु उपस्थित थिए ।

करिब ३ः३० बजे कार्यक्रमको समापन भएपश्चात केही रकम लिनको लागि प्राज्ञ लालकाजीसँग अर्जुन बन्जारा दाईको गाडीमा बुटवल गयौँ । बुटवलबाट फर्किएर खैरेनीको नजिकमा रहेका बुद्धसँग सम्बन्धित ठाउँहरू घुम्दा गलेको शरीर लिएर बुद्ध पार्कमा फर्कियौँ । खाना खाएपश्चात् बासको लागि तामाङहरूले बनाएको एक भवनमा ठूलो हलमा पुग्यौँ । पहिलो तलामा हल भएकोले भुइँ र भित्ताहरू तल ग्राउन्ड फ्लोरमा ठूला ठूला भट्टीहरू जलाए जसरी नै तातेका थिए । तातोपानीले नुहाई फर्मको बिस्तारामा सुस्तायौँ त्यो रात ।

कार्यशालाको दोश्रो दिन मूर्ति सिर्जना गर्ने काठका मुढाहरू चयन गर्नको लागि फिल्डमा निस्कियौँ । बुद्ध सामुदायिक वनको स्टोरमा काठ छानेर कार्यशाला स्थलतर्फ लाग्यौँ । बिहानको नास्ता तयार रहेछ खायौँ । पार्क÷बन घुम्दा काम कहाँ गर्ने भन्ने विषयमा छलफल गर्दा गर्दै झण्डै ११ः३० बज्यो । खाना खाए पछि प्राज्ञ याम थापा सरले काम(मूर्ति सिर्जना) बन परिषरभित्रै गर्ने भन्ने भाव व्यक्त गर्नुभयो र कार्यशाला स्थलमा काठ ल्याउने र ठाउँ–ठाउँमा राख्ने काम भयो । त्यही दिन केही मूर्तिकारले आफ्नो काम सुरु गरी सक्नुभएको थियो ।

तेश्रो दिन, बिहानैदेखि कलाकारहरू कला सिर्जना गर्नको लागि कार्यशाला स्थालमा गई आ–आफ्नो कामको सुरुआत गर्नु भयो । यसरी मूर्तिकारहरूले मूर्ति सिर्जना गर्न तल्लीन रहँदा स्थानीयबासी खुसी देखिन्थे । गर्मी मौसम भएकोले एक जना कलाकारलाई एउटा फ्यान र आडैमा चिसो पानीको राम्रो व्यवस्था थियो ।

त्यहाँका ११ वटा स्थानीय आमा समूहले भागवन्डा गरी पूरै जंगल सरसफाई गरेका थिए भने खाना खाजाको बन्दोबस्त पनि तीनै आमा समूहका सदस्यहरूले गरेका थिए । कार्यशाला सफल पार्नको लागि र आफ्नो ठाउँ आफँै बनाउँ भन्ने हेतुले उनीहरू आफ्नो घरको कामसमेत माया मारेर लागिपरेका थिए ।

स्थानीय सञ्चारमाध्यमले पनि यस कार्यशालालाई प्राथमिकतामा राखेर समाचार सम्पे्रषण गरेका थिए भने राष्ट्रिय स्तरका सञ्चार माध्यमले पनि श्रव्य, दृश्य समाचार प्रसारण गरेका थिए ।

चौथो दिनदेखि काठमा कलाका सौन्दर्यता देखिँदै–देखिँदै थिए । कार्यशाला हेर्नको लागि निकै टाढा–टाढाबाट कला पारखीहरू आउनेक्रम बढिरहेको थियो । खैरेनीका सबै विद्यालयका विद्यार्थीलाई कार्यशाला भिजिट गराएका थिए भने अन्य ठाउँबाट पनि विद्यार्थीलाई ल्याएका थिए । त्यतीवेला मलाई लाग्थ्यो ‘सहरले भन्दा गाउँले कलालाई माया गर्छ, चासो दिन्छ ।’ कार्यशाला अवधिभर करिब बीस हजार मानिसले कार्यशालाको भ्रमण गरेका थिए ।

पाँचौँ दिन, दिनभर कार्यशाला स्थलमा काम गरेर साँझ प्राज्ञ गोविन्द चौधरीसँग बुटवलमा भाइको कोठामा पुगेँ । हामी बसेको ठाउँभन्दा बुटवलमा अलिक बढी गर्मीको अनुभव भयो । भाइको बुटवल बजारमा आँखा क्लिनिक थियो । उसँगै मामाको छोरो उदय खड्काले पनि काम गर्ने र सँगै बस्ने रहेछन् । केही समय भाइसँग दुःख–सुखका गफ गरी सुतियो । भोलिपल्ट बिहानै चौधरीलाई फोन गरेर कहाँ भेट्ने भन्ने कुरा गर्दा चौराहा चोकमा भेट्ने भनेपछि भाइको क्लिनिक हेरेर चौराहातर्फ लाग्यौँ । चौराहामा गोविन्द सरको स्टुडियो भिजिट गरेर हामी कार्यशाला स्थलतर्फ लाग्यौँ ।

दिन बित्दै जाँदा मूर्तिले निखारता पाउँदै थिए । कलाकारले बुद्धसँग सम्बन्धित मूर्तिहरू सिर्जना गरेका थिए । मूर्तिकारले बुद्ध, बुद्धिकी आमा, बुबा, सानीआमा, बुद्धको मावली हजुरबुबा आदि बनाएका थिए भने केही मूर्तिकारले बुद्धले दिएको सन्देश र बुद्धवाणीलाई उजागर गर्ने अमूर्त कला सिर्जना गरेका थिए । सिर्जित मूर्तिहरू र मूर्तिकारको परिश्रम देखेर वेला–वेलामा रूखका पातहरू पनि आश्चर्य चकित भएर हेरिरहन्थे त कति वेला रमाएर ताली पिट्दै नाच्दथे ।

त्यही कार्यशाला स्थलका वृक्षमुनि वृक्षको ओझेल पारेर बस्दा सोच्छु, कला सिर्जना गर्नुलाई विभिन्न मानिसले आ–आफ्नै तवरबाट हेर्न गर्दछन् । मलाई लाग्छ, कला सिर्जना गर्न ध्यान–ज्ञान, सीप–शैली, तौरतरिका, आहार–व्यवहार सबै चिजको मिश्रणबाट कला सिर्जना हुन्छ । जोकोही सामान्य मानिस कलाकार हुन सक्दैन भन्ने मेरो मनसाय होइन सबैमा केही न केही कला हुन्छ तर कलालाई शिखरमा पु¥याउन माथि उल्लेखित विषय आवश्यक छ ।

बुद्धको मावली र सुसुराली गाउँ देवदहदेखि पश्चिम भलुहीमा मेरी फुपुको घर भएकोले एकदिन फुपुलाई कार्यशाला स्थलमा भेटघाटको लागि बोलाएँ । उहाँलाई भेट्दा मेरो बालपन, उहाँको सहयोग, माया, ममता मेरो आँखा अगाडि ती दिनहरू रिफ्लेक्ट भएर आए । मलाई सम्झना छ, उहाँले मलाई खुसी पार्नको लागि चकलेट दिनुहुन्थ्यो तर हजमोला किनकि गुलियोले दाँत बिगार्छ । म विद्यालयबाट फर्किदा फुपुको पसलमा पस्थेँ । मेरो भोक मेटाउन चना, केराउ किनेर दिनुहुन्थ्यो किन त चाउचाउ र बिस्कुटले स्वास्थ्य बिगार्छ । बेहिसाब छन् उहाँका योगदानहरू । उहाँजस्तो फुपु पाएको भाग्यमानी म, उहाँलाई भेट्दाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ ।

जेठ महिना तराईको चर्को गर्मीले केही कलाकारको शरीरभरी घमौरा आउने, शरीर चिलाउने समस्याले उग्ररूप लिइरहेको थियो भने हामी केहीले गर्मीलाई पचाइदिएका थियौँ । दिनभरको गर्मी र पसिना निकाल्न हामी साँझमा नुहाउँथ्यौँ । त्यहाँ पानीको कुनै समस्या थिएन तर बाथरूम एउटा मात्र भएकोले पालो कुर्नुमा छुट्टै अनुभव लिने मौका मिल्यो । पालो कुर्न पट्यारलाग्दा हामी केहीले खुला आकाशमुनि नुहाएर आनन्द लियौँ । यसरी आनन्दमय कार्यशालाको समापनको दिन आयो ।

कार्यशालाको अन्तिम दिन, बिहानै ६ बजे लुम्बिनी घुम्न जाने योजनाअनुसार केही कलाकार, मधु भाउजु, उहाँकी भदैनी गरी जम्मा १३ जना देवदहबाट निस्कियौँ । बाटोभरि रमाइलो गर्दै लुम्बिनी पुगेर नास्ता गरेर घुम्न थाल्यौँ । गेटबाट भित्र छिर्दै मन आनन्दित भइसकेको थियो । कलाकार साहित्यकार भुवन सरको भाइले हामीलाई भित्र सबैतिर व्याख्या गर्दै घुमाइ दिनुभयो । ठाउँ–ठाउँमा घुम्दै रमाउँदै गयौँ । कुनै ठाउँहरू आँखामा नअटाउने खालका थिए । अशोक स्तम्भ मैले सोचेजत्रो ठूलो रहेनछ । हामी विभिन्न देशका गुम्बहरू घुमिरहँदा मेलो मेट्नको लागि मात्र हिडेको जस्तो लागिरहेको थियो । शितल मौसममा बिहानदेखि साँझसम्म आनन्दले घुम्ने ठाउँ रहेछ तर छोटो समयमै भए पनि रमाइयो । जुन हरि भाइले तस्विरमा कैद गरेका छन् ।

करिब १२ः३० बजे हामी त्यहाँबाट गाडी चढेर बुटवलतर्फ लाग्यौँ । बुटवल बजारमा प्राज्ञ याम सरको आर्ट स्टुडियोसहितको घर पर्ने रहेछ । उहाँको घरमा चिसो र कुकिज खाएर देवदहतर्फ लाग्यौँ । १ः३० मा कार्यशाला स्थलमा पुगी खाना खाई मूर्ति र मूर्तिकारका केही तस्बिरहरू खिचेँ ।

सधैँ झैँ त्यो दिन मौसम सफा थिएन । हामीले देवदह छोडेर जान लागेकाले होला आकाश रुँदै कराउँदै थियो । सूर्यले पनि आफूलाई पूरै छोपेको थियो । आकाश रुँला–रुँला गरेको थियो । त्यसै समयमा ३ बजे हाम्रो राष्ट्रिय काष्ठ मूर्तिकला कार्यशाला समापन समारोहको कार्यक्रम अगाडि बढ्यो । कार्यक्रममा मन्त्री, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव विपिन घिमिरे, नगर प्रमुख, वडाध्यक्ष, सामाजिक अभियन्ता, समाजसेवी, विभिन्न संघ–संस्थाका व्यक्तिहरू लगायत गरी करिब एक हजार जनाको उत्साहजनक सहभागिता थियो । मौसमको खराबीका कारण कलाकारलाई सम्मान गर्दै केही वक्तले बोलेपश्चात् कार्यक्रमको समापन भएको थियो ।

कार्यक्रम समापनको साँझ नै हामी काठमाडौं प्रस्थान गर्ने पूर्वयोजनाअनुसार सामान संकलन गरी हेरिटेज होटलतर्फ लाग्यौँ । हाम्रो बस ९ बजे आउने भएपछि सोही होटलमा खाना खायौँ । खाना खानसाथै बस आइपुगेपछि हामी काठमाडौंको यात्रा ग¥यौँ ।

प्रतिक्रिया