दोलखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार कार्यकर्ता पालन पोषणको लागेको आरोप लगाउँदै अख्तियारलाई पनि हतोत्साहित बनाउँदै लगेको बताएका छन् । नेपाली काँग्रेस दोलखाको जागरण अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्टको सिद्धान्त कहाँ गयो माक्र्सवाद, लेनिनवाद कहाँ गयो ? भन्दै दिनदिनै कुराहरू फेरिदै गएको र जनतामा झुठो भ्रम फैलाउँदै गएको बताए ।
कार्यकर्ताले अब किन हामी पछि प¥यौँ भनेर खोज्नु पर्ने अवस्था आएको उनले बताए । त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा स्थानीय सरकार काँग्रेसको पालामा नै आएको र अहिले जति पनि आयोग छन् सबै काँग्रेसकै कारण भएको बताए । भारत र पाकिस्तानको भाषा प्रयोग गरेर लालसलाम भन्ने हैन हिमाल र पहाड जोड्ने जय नेपाल भन्न सबैलाई आग्रह गरे ।
आज जनाताले कम्युनिस्टको अनुभूति गरेका छन् देशमा महंगी भ्रष्टाचार बढेको छ । प्रत्येक गाउँ गाउँमा आवाज उठ्न लागेको छ हामिले गलत गरेछौँ कम्युनिस्टलाई भोट हालेर यी जनताको आवाज काँग्रेसले मात्र जवाफ दिन सक्ने उनले बताए ।
यो देश टोपी लाउनेको पनि हो र धोती लाउनेको पनि भएको भन्दै उनले सरकारले गरेका काम कारबाही प्रभावकारी नभए पनि उदण्डतापूर्वक विरोध नगर्ने बताए । ‘हामी सरकारका विरुद्धमा बन्द, हड्तालमा उत्रदैनौँ’ उनले भने, ‘बरु कमजोर प्रतिपक्षको आलोचना सहन तयार छौँ ।’ नेता शर्माले राजनीतिप्रति युवाहरूको आकर्षण घट्दै गइरहेका वेला बन्द हड्तालका कार्यक्रमले कसैलाई पनि फाइदा नगर्ने बताए ।
प्रबक्ता शर्माले मुलुकमा गणतन्त्र ल्याउनमा नेत्रविक्रम चन्द विप्लव समूहको पनि उच्च योगदान रहेकाले सो समूहलाई वार्तामा ल्याउनुपर्ने बताए । उनले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै निकास खोज्नुपर्ने बताए ।
उनले सरकारको नेतृत्व गरेको दल नेकपा र विप्लव नेतृत्वको नेकपाका कारण नागरिकले सास्ती पाउन नहुने बताए । ‘हिंसात्मक तवरले राजनीतिक उद्देश्य प्राप्ति गर्ने सोच कसैले पनि राख्नु हुँदैन’, उनले भने, ‘नागरिकले धेरै दुःख पाइसकेका छन्, अब नागरिकलाई दुःख होइन, समृद्धि दिनुपर्ने आवश्यकता छ ।’
उनले सरकारले गतवर्ष सकारले ‘प्रधानमन्त्री स्वरोजगार’ कार्यक्रम ल्याउँदा काँग्रेसले स्वागत गरेको भए पनि सो कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनले कर्मचारीको तलव वृद्धि गर्नु ठीक भए पनि राष्ट्रपति र प्रधानमन्त्रीको तलब वृद्धि गर्न उपयुक्त नरहेको बताए । संघीयताको मर्म विपरीत सांसदलाई रकम छुट्टाइएकाले काँग्रेसले विरोध जनाउनु परेको उनको भनाइ थियो ।
‘स्थानीयतहमार्फत विकासका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ भन्ने काँग्रेसको माग हो’, उनले भने, ‘सांसदलाई रकम बाँड्न दिनु अब जरुरी छैन ।’, उनले वालुवाटार जग्गा प्रकरण र वाइडबडी जहाज खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिए पनि कमीकमजोरी गरेको प्रमाण कहीँ कतै नभेटिएको बताए ।
प्रतिक्रिया