बाँके । देशव्यापी रूपमा राष्ट्रिय जागरण अभियान गर्दै आएको कार्यक्रमअन्तर्गत नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा पनि बृहत् प्रदर्शन तथा सभा गर्नेे तयारी गरेको जनाएको छ । यही २५ जेठमा नेपालगञ्जमा बृहत् प्रदर्शन तथा सभा गर्न लागेको हो । बृहत् प्रदर्शन तथा सभाको तयारीका लागि पार्टीका नेपालगञ्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा प्रचारप्रसार, क्षेत्र–३ का सभापति रमेश गुप्ताको संयोजकत्वमा मञ्च व्यवस्थापनलगायत उपसमिति गठन गरिएको छ ।
प्रदर्शन र सभामा हजारौँ कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने कांग्रेस बाँकेले जनाएको छ । प्रदर्शन र सभाको तयारीबारे आयोजित छलफलमा नेपाली कांग्रेस बाँकेका पदाधिकारीले पहिलो चरणको जागरण अभियानको अन्तिम दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन् ।
बृहत् प्रदर्शन तथा सभालाई कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदलगायत नेताले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस बाँकेको कार्यालयबाट सुरु हुने बृहत् प्रदर्शन गणेशमान चोक, बिपी चोक हँुदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत हुने कांग्रेस बाँकेका उपसभापति सुनीलनरसिंह राणाले बताए ।
सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न उक्त प्रदर्शन र सभामा सबैलाई आह्वान गरिएको उनले जनाए । उक्त कार्यक्रममा सहभागिताका लागि कांग्रेसका सबै तहका पदाधिकारी, क्रियाशील सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठन तथा सर्वसाधारणलाई आह्वान गरिएको सचिव तप्त पौडेलले जानकारी दिए ।
जिल्ला सचिव एवं प्रचार विभाग प्रमुख कपिलदेव शर्माका अनुसार प्रदर्शन तथा सभा सञ्चालनको ढाँचा एकदमै छोटो हुनेछ । कांग्रेसले पहिलो चरणको अभियान २५ वैशाखबाट एक महिनासम्म सञ्चालन गरेको थियो । पहिलो चरणको कार्यक्रममा गाउँ, टोल, वडा, गाउँपालिका, नगर, क्षेत्रीय स्तरमा बैठक, भेला तथा सम्मेलन गर्ने तालिका निर्धारण गरिएको थियो । सो अनुरूप जिल्लाका सबै क्षेत्रमा कार्यक्रम भएको बाँके कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया