लन्डन । न्युजिल्यान्डले बुधबार इंल्यान्डको ओभल सम्पन्न खेलमा दुई विकेटको साँघुरो नतिजा आत्मसात् गरेको छ । साबिकको उपविजेता न्युजिल्यान्डले २ सय ४५ रनको मध्यम लक्ष्य आठ विकेटको क्षतिमा १७ बल अगावै पूरा गर्दै विश्वकपमा लगातार दोस्रो जीत आत्मसात् गरेको हो ।
यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको फरालिको जीत निकालेको थियो । मध्यम लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका रोस टेलरले सर्वाधिक ८२ रनको योगदान दिएका थिए । यद्यपि, जितनजिक पुग्दा न्युजिल्यान्डले निकै संघर्ष गर्नुपरेको थियो । न्युजिल्यान्डलाई दोस्रो सफलताका लागि २७ रन आवश्यक हुँदा लगातार तीन विकेटको पतन हुनपुग्यो ।
तर, मिचेल सान्टनेरले १७ रन र लोक्की फर्गुसनले ४ रनको अविजित इनिङ खेलेपछि न्युजिल्यान्ड सुखद यात्रालाई जारी राख्न सफल भयो । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले चार विकेट लिँदा बंगलादेश निर्धारित ५० ओभरभन्दा चार बल अगावै २ सय ४४ रनमा समेटिएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले पनि ब्याटिङ संघर्ष नै गर्नुपर्यो ।
टेलरले अर्धशतकीय योगदान दिएपछि बंगलादेश दोस्रो पटक यादगार सफलता प्राप्त गर्न असफल रह्यो । जितपछि न्युजिल्यान्डका कप्तान केन विलिम्सनले ब्याटिङमा निकै संघर्ष गर्नुपरेको स्विकार गरेका थिए । ‘बलिङमा हामीले राम्रो गर्यौं,’न्युजिल्यान्डका कप्तान विलियम्सनले भने,‘२५० रनको लक्ष्य पूरा गर्न पनि निकै संघर्ष गर्नुप¥यो । केही ब्याट्सम्यान सस्तैमा आउट हुँदा समस्या उत्पन्न भए पनि टेलरले राम्रो गरे ।’
बंगलादेशका तीव्र गतिका बलर मोहमद सैफुद्दिन र स्पिनर मोसादेक हुसेनले समान दुई विकेट लिँदै आफ्नो टोलीलाई जितको आशा जगाएका थिए । अर्का स्पिनर मेहिदी हसनले कप्तान विलियम्सनलाई ४० रन र टोम लाथमलाई खाता नखोल्दै पवेलियनको बाटो देखाएका थिए । सकिब अल हसनले पनि एकदिवसीयमा क्रिकेटमा दुई सय विकेट पूरा गर्ने क्रममा बुधबार यादगार बलिङ गरेका थिए । अलराउन्ड प्रदर्शन गरेका सकिब अल हसनले अर्धशतक प्रहारसँगै २ विकेट पनि लिएका थिए ।
हसनले न्यजिल्यान्डका ओपनरद्वय मार्टिन्स गप्टिललाई २५ रन र कोलिन मुनरोलाई २४ रनमा आउट बंगलादेशलाई राम्रो सुरुआत दिलाएका थिए । तर, तेस्रो विकेटका लागि विलियम्सन र टेलरले १ सय ५ रनको साझेदारी गर्दै इनिङ उकासे । बंगलादेशले थप ६५ रन जोड्ने क्रममा पछिल्ला ६ विकेट नै गुमाएको थियो । बंगलादेशको इनिङ धरासयी बनाउन न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरीले ४ विकेट लिँदा ४७ रन खर्चिएका थिए ।
तर, सकिब अल हसनले ६८ बलमा ६४ रन बनाउँदै इनिङ उकासेको थिए । उसका तल्लो क्रमका ब्याट्सम्यान सैफुद्दिनले २९ बलमा २३ रन बनाउँदा बंगलादेशले मध्यम योगफल बनाएको थियो । तर, त्यो जीतका लागि पर्याप्त भएन ।
प्रतिक्रिया