संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्को साप्तेल र याचम्खा टोलका २१ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षायाम सुरु भएसँगै उनीहरूको जाग्राम बस्ने समय पनि सुरु हुन्छ ।
गत वर्षको असोजमा सिलिचोङ गाउँपालिका–३ ताम्कु, साप्तेल र याचम्खा टोल २१ घर विस्थापित भएका थिए । विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न आवश्यक रहेको भए पनि आवश्यक बजेट नहुँदा उनीलाई पुनः सोही स्थानमा बसाउनुपरेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए । साप्तेलका अगमबहादुर कुलुङ भन्छन्, ‘गड्याङगुडुङ गरेर आकास कालो हुन थालेसँगै पहिरोले गाउँ नै तान्ने डर सुरु हुन थाल्छ । अझ बर्खाको समयमा त जतिखेरै पहिरोले तान्ने डर पैदा हुन्छ, पानी पर्नासाथ रातमा जाग्रम नै बस्नुपर्छ ।’
उनी मात्र होइन साप्तेलवासीको समस्या सबैको उस्तै छ । गाउँ नजिकै तलबाट पहिरो सुरु भएको १० वर्ष भएको छ । पहिरो सुरु भएको १० वर्ष भए पनि केही वर्ष यता हिउँदको सयमा समेत सुक्खा पहिरो जाने गरेको छ । सोही पहिरोले करिब आठ वर्षअघि एकजनाको ज्यान लिएको थियो ।
गाउँ नै चिराचिरा भएको छ, हिउँदमा त जसोतसो बस्छौँ वर्षायाम त बस्नै डरमर्दो छ याचम्खाका दीपेन्द्र कुलुङले भने । उनी भन्छन्, ‘आफ्नो घर छाडेर जानलाई अन्यत्र जग्गा छैन । उचित वासस्थानका लागि स्थानीय सरकारले पनि केही गर्न नसकेको उनले गुनासो गरे । साप्तले र याचम्खा गाउँमा कोदो, मकै र अलैँची खेती मात्र हुने गरेको छ ।
०६६ साल साउनमा छिमेकी गाउँ सिकिदिमको पहिरो सम्झँदै दीपेन्द्रले भने ‘अब यस्तो अवस्था नआओस् ।’ सिकिदिम पहिरोमा १३ जनाको मृत्यु भएको थियो । पहिरोमा परेका अधिकांशको शव अझै फेला परेकोे छैन । पहिरोबाट विस्थापित ६२ परिवारलाई सिलिचोङ–३ मानेटारमा पुनर्वास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति संखुवासभाले जिल्लाको १० वटै स्थानीय तहलाई पहिरोको उच्च जोखिममा राखेको छ । समितिको दुई वर्ष अघिको तथ्यांकअनुसार पहिरोको उच्च जोखिममा २ सय ७० परिवारका १ हजार ६ सय जना रहेको उल्लेख गरिएको छ । यस वर्ष अझ यो तथ्यांक बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । बर्खाको सयम सुरु भएकाले केही दिनमा नै समितिले बैठक बसी उच्च जोखिमका ठाउँहरू पहिचान गर्न १० स्थानीय तहका प्रमुखहरूलाई बोलाउने घिमिरेले बताए । बैठकमार्फत कसरी सतर्कता अपनाउने भन्ने कार्ययोजना तयार गर्ने बताइएको छ ।
जिल्लामा ३२ वर्ष यता पहिरोका कारण ३५ वटा घटनामा ७९ जानको मृत्यु भएको सहायक घिमिरेको भनाइ छ । त्यसैगरी बाढीका कारण जिल्लामा ३२ वर्ष यता नौ जनाको मृत्यु भएको जनाइएको छ ।
०७२ जेठमा बाढी तथा पहिरोबाट प्रभावितलाई मकालुको पावाखोला काङदुवाबाट पाथिभराको सीमा नेपाली सेनाको लान्सर हेलिकोप्टरबाट ३८ जनालाई उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । पुनः उनीहरू सोही स्थानमा बसोवास गरिरहेका छन् । उच्च जोखिममा रहेकाहरूको विपद्को समयमा उद्दार गरे पनि सामान्यवस्था हुनासाथ उनीहरू सोही स्थानमा पर्कनुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया