मृत्युलाई जित्नुपर्ने बाध्यता

जाजरकोट । जुम्लाका जयकृष्ण पाण्डे केही दिन अघि पाटनमा यार्सा संकलन गर्न पुगेका थिए । किलो कै लाखौँ पर्ने यार्सा यस क्षेत्रका मानिसका लागि मुख्य आयस्रोत हो । पाण्डेपनि वर्षभरीको परिवारको आर्थिक जोहो गर्न डोल्पाको पाटन पुगेका थिए ।

उनीजस्ता सयौँ मानिसहरू अहिले हिमाली जिल्लाका पाटनमा यार्सा संकलनमा जुटिरहेका छन् । तर, गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय पाण्डेको भने १० जेठमा यार्सा संकलनका क्रममा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भयो । यार्सागुम्बा पाटनका अप्ठेरो ठाउँमा पाइने जडिबुटी हो ।

यो समुद्री सतहदेखि तीन हजार फिटदेखि ६ हजार फिटसम्म पाइने गरेको छ । पाण्डे भने भिरको ख्याल गर्न नसक्दा चिप्लेर लडेका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनीजस्ता कयौँले वर्षेनी ज्यान गुमाउँदै आएका छन् । पछिल्ला दुई सातामा ८ जनाको ज्यान गईसकेको खबर प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

उनीजस्ता कयौं अहिले पाटनहरूमा टेन्ट नै गाडेर बसिरहेका छन् । पाटनमा दशौँ हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगेर संकलन सुरु गरिसकेका छन् । यार्सागुम्बा टिप्न गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर पाटन पुगेका छन् ।

तर, सोचेजस्तो सजिलो छैन, यार्सासंकलन भने । धन कमाएर परिवारलाई खुसी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका पाण्डेसहित आठ यार्सा संकलकको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये पनि अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रूकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् ।

विकट ठाउँमा यार्सा संकलकहरू रहेकाले यकिन विवरण आउन समय लाग्ने गरेको प्रहरीको भनाइ छ । यार्सा संकलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ ।

डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्की, शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको १८ जेठमा लेक लागेर मृत्यु भएको थियो ।

त्यस्तै रूकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेक, ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा संकलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा संकलनको काम भइरहेको छ ।

ज्यानकै जोखिम मोलेर यार्सा संकलन गरेपनि वास्तविक मुल्यभन्दा निक्कै न्युन मुल्यमा स्थानीय बेच्न बाध्य हुने गरेका छन् । यार्सा निर्यात गर्ने एजेन्टले ठुलो मात्रामा कमिसन लिने गर्दा संकलनकर्ता मर्कामा परेका हुन् । भर्खर टिपेको र ढुसी नपरेको एउटा यार्साको सामान्यतया मूल्य तीन सय रुपैयाँ पर्छ ।

तर, किलोमा कम्तीमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म स्थानीयले बेच्ने गरेका छन् । विश्वबजारमा भने यसको मूल्य निक्कै महंगो रहेको छ । चीनमा मात्र यसको एक किलो यार्साको मूल्य एक करोडको हाराहारीमा पुग्छ । वर्षैपिच्छे सरकारले यार्साको मूल्य तोकेपनि त्यसलाई वेवास्था गर्दै यार्सा लैजाने एजेन्डहरूले आफूखुसी मूल्य तोक्छन् ।

बहुमूल्य जडिबुटी यार्सा स्वदेशमा उपयोग हुन नसक्दा विदेशिने गरेको छ । स्वदेशमा जडिबुटीको प्रवद्र्धन गर्न नसक्दा नेपाली यार्सा अधिकांश अवैधरूपमा चीन, भारत लगायतका देशमा निर्यात हुन्छ । सीमा जोडिएका विशेष गरेर चीनको छोङछाओ, तोङछोङ, स्याछाओ लगायतका सहरमा यसको माग निकै बढेको व्यापारीहरू बताउँछन् । त्यहाँका स्थानीयले सिंगै यार्सा वा त्यसबाट बनेका विभिन्न ‘डायटरी सप्लिमेन्ट’ का क्याप्सुल एकअर्कालाई उपहार दिन्छन् । चीनले यार्साबाट चुरोटदेखि ह्विस्की र विभिन्न औषधिहरू उत्पादन गरी बजारमा पठाउने गरेको छ ।

प्रतिक्रिया