काठमाडौँ । काठमाडौं महानगरपालिका सहरी योजना आयोगको सक्रियता र ब्यवस्थापनमा ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा– २०७५’ सम्पन्न भएको छ । क्षमतावान युवाहरुलाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा स्वदेश तथा विदेशमा हासिल गरेको नविन ज्ञान, सीप, प्रविधि एवं कला–कौशललाई आफ्नै जन्मभूमिको माटोमा सिञ्चित गरी स्वाधिन अर्थतन्त्र निर्माण गर्ने उदेश्यले यस्तो प्रतिस्पर्धाको आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ निर्माणको अभियान पूरा गर्नका लागि सरकारी तहबाट युवाहरुलाई प्रोत्साहित गर्न पनि यो प्रतिस्पर्धा सहयोगी बन्ने महानगरपालिकाले अपेक्षा गरेको छ । स्थानीय सरकारको तहबाट पहिलो पटक आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा बाट काठमाडौंको समस्याहरुको पहिचान गरी तिनलाई निराकरण गर्ने नवीन तथा प्रविधिमैत्री उपायहरुको खोज तथा संकलन गर्न सहयोग पुग्ने पनि महानगरपालिकाले अपेक्षा गरेको जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्ता प्रतिस्पर्धाले युवाहरुमा नवीन सोचको खोजी गर्न सहयोग पुग्ने बताए । प्रतिस्पर्धाका विजेता र उपविजेता समूहलाई पुरस्कार वितरण कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले नेपालीमा मेरो देश मै बनाउन सक्छु भन्ने भावना आउनु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले चीन र इजरायल विकासको उदाहरण दिंदै नेपालले पनि त्यही गतिमा विकास गर्नु पर्ने बताए । ‘देश विकासका लागि युवाहरुको सोच अति आवश्यक हुन्छ, प्रधानमन्त्री ओलीले भने, ‘युवाहरुको उत्साहपूर्ण सहभागिताले नेपाललाई छिटै विकसित देशको रुपमा हामी विश्वमा चिनाउन सक्छौं ।’ उनले मागेर होइन, आफ्नै पौरखले देश बनाउने हो भन्दै त्यसका लागि अठोट चाहिने बताए ।
सोही कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नविन प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तन गरी आधुनिक, सभ्य र सुसंस्कृत महानगर निर्माण गर्ने उपयुक्त प्रविधि भित्रयाउन सहयोग पुग्ने बताए ।
‘विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने, काठमाडाैँ महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने जस्ता कुरामा यस्ता प्रतिस्पर्धाले सहयोग पुग्ने आशा गरेका छौँ, उनले भने, ‘काठमाडौंको सहरी समस्या समाधान गर्न सक्ने प्रविधिमैत्री ‘स्टार्टअप’ उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, नविन सोचलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयनयोग्य बनाउनका लागि उपयुक्त वातावरण निर्माण गर्न पनि यस्ता प्रतिस्पर्धाले सहयोग पुग्ने छ ।’
मेयर शाक्ले युवालाई आफ्नै देशमा पनि सम्भावना छ भनेर देखाउन यस प्रकारको प्रतिस्पर्धा आयोजना गरिएको पनि बताए । ‘प्रतिस्पर्धामा आएका सोच महानगरका लागि मात्र होइन, उनले भने, ‘यी सोचलाई कुनै पनि स्थानीय तहले कार्यान्वयनमा ल्याउन सक्छन् । महागरले आयोजना गरेको यो प्रतिस्पर्धा सार्वजनिक निकायबाट आयोजना गरिएको संभवतः पहिलो कार्यक्रम हो ।’
त्यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने लक्ष्य लिएको बताए । प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मूख्य ४ विषयहरु समेटिएको पनि उनले जानकारी दिए ।
उनका अनुसार हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोँचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको थियो । त्यसैगरी दोश्रो चरणको छनौटका लागि पहिलो चरणबाट छनोट भएको प्रतिस्पर्धी समूहहरुले विभिन्न पक्षहरुका ३८ प्रश्नहरु समेटिएको सोंचको न्यूनतम सम्भाब्य उत्पादन पेश गर्नुपर्ने ब्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
‘प्रतिस्पर्धीले आफ्नो सोंचलाई कार्यान्वयन गर्नका लागि प्रोटोटाईप समेत अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था थियो, उनले भने, ‘पेश भएका न्यूनतम सम्भाब्य को आधारमा ४ बिषयहरुमा हरेकमा ६ समूहका दरले २४ उत्कृष्ट समुहहरुलाई दोश्रो चरणमा छनौट गरियो र विजेता र उपविजेता ८ मूहलाई दुई–दुई र एक–एक लाख वितरण गरिएको हो ।’
प्रतिस्पार्धामा उत्कृष्ट समूह र प्राप्त गरेको रकम
च्यालेन्ज विजेता (समूहगत विजेता मध्ये एक) – रु ५,००,०००
विषयगत विजेताः– समुदाय तथा वातावरण– (एनि टाइम ट्वाइलेट) – रु २,००,०००
विषयगत विजेताः– सहरी पूर्वाधार– (ट्राफिक म्याप) – रु २,००,०००
विषयगत विजेताः– महानगरीय सामुदायिक सेवा (डिजिटल नेपाल) – रु २,००,०००
विषयगत विजेताः– महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन (भूमि) – रु २,००,०००
विषयगत उपविजेताः– समुदाय र वातावरण– (एरो रुट) – रु १,००,०००
विषयगत उपविजेताः– सहरी पूर्वाधार – (सफा सहर) रु १,००,०००
विषयगत उपविजेताः– महानगरीय सामुदायिक सेवा – (नेपाल मेड)रु १,००,०००
विषयगत उपविजेताः– महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन– (अटोमाटा) रु १,००,०००
त्यसैगरी समूहगत बिजेता एनि टाइम ट्वाइलेट समूहले थप नगद ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतिक्रिया