काँक्रेविहार खुल्ला संग्रहालय

सुर्खेत । पुरातात्विक दृष्टिले महत्वपूर्ण सम्पदा भनेर चिनिने काँक्रेबिहारलाई खुल्ला संग्रहालयका रुपमा विकास गरिने भएको छ ।

विश्व वातावरण दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रूपमा विकास गरिने बताए ।

काँक्रेविहार क्षेत्रमा बुधबार आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रमपछि उनले भने, ‘पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।’ उनले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिन लागेको जानकारी दिए उनले भने, ‘ऋषि, महर्षिहरूको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार रहेको छ ।’ उनले स्वच्छ र सफा वातावरणविना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वयनमार्फत सरसफाइ तथा स्वच्छताको प्रवद्र्धन गरिने जिकिर गरे ।

मुख्यमन्त्री शाहीले वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै भने, ‘वातावरण संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्दछ ।’ विश्व वातावरण दिवसका अवसरमा मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय क्लबको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौँ लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

प्रतिक्रिया