काठमाडौं । प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुरः दि लिजेन्ट अफ किर्तिलक्ष्मी’ को प्रदर्शन मिति तय गरिएको छ । निर्माण भएको लामो समयपछि यो चलचित्र आगामी १३ असारबाट प्रदर्शनमा आउने तयारीमा छ ।
पाँच वर्षअघि फोकस पिक्चर्सको ब्यानरमा निर्माण थालिएको यो चलचित्रको बल्ल प्रदर्शन मिति तय गरिएको हो । साहित्यकार वासु पासाले लेखेको ‘भैरवसिंह’ उपन्यासमा केन्द्रित रहेर यो चलचित्र ८ वर्षदेखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसँगको समन्वयमा बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा मदनदास श्रेष्ठ, हिसिला महर्जन, यशराज गराच, लक्ष्मी गिरी, सुशिल राजोपाध्याय, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ ।
निर्देशक प्रदीपले भने, ‘आफू कीर्तिपुरबासी भएकाले पनि कीर्तिपुर आक्रमणको घटनालाई चलचित्रमा उतार्ने कोसिस गरेको हुँ ।’
शंकर महर्जन र नवीन जोशीको छायांकन रहेको यो चलचित्रका कार्यकारी निर्माता वीरेन्द्र ताम्राकार हुन् । चलचित्रमा प्रेम खड्गी तथा अनन्त श्रेष्ठको लगानी छ । पृथ्वीनारायण शाहले नेपाल बिस्तार गर्नेक्रममा भएका विभिन्न घटना र तिनका सामाजिक पक्षलाई चलचित्रमा उधिनिएको छ । प्रदर्शनका लागि यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
प्रतिक्रिया