दीगो विकासका लागि शिक्षामा लगानीः राष्ट्रपति

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दीगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । उनले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिएकी छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–५ जिगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरूलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रूपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने भन्दै उनले सामाजिक विकृति र विसंगतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

शिक्षाले मुलुकको एकता र आपसी सद्भावलाई बलियो बनाउने भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् ।

अर्को एक प्रसंगमा बोल्दै राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरूलाई पूर्णता दिन सरकारलाई सुझाइन् । सिक्टा सिंचाई आयोजना, भेरी बबई डाइभर्सन लगायतका यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने उनको कथन थियो ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न भए यस क्षेत्रको कृषि उत्पादनले फड्को मार्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कृषिमा आधुकिकीकरण जरुरी रहेको बताइन् । ‘हाम्रो मुलुक कृषिमा आत्मनिर्भर हुनका लागि यस क्षेत्रको भूमिका पनि महत्वपूर्ण छ ।’

यसअघि राष्ट्रपति भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा बुधबार बिहान पूजाअर्चाना गरेकी छन् । उनले मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दिपा शर्माले जानकारी दिईन ।

पश्चिम नेपालकै शक्तिशाली शक्तिपीठ मानिने बागेश्वरी मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीले राष्ट्र प्रमुख भएपछि पहिलो पटक बागेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी हुन् ।

राष्ट्रपतिलाई बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बागेश्वरी माताको प्रसादका रूपमा फूलमाला तथा टीका प्रदान गर्दै मन्दिरको आर्थिक अवस्थाबारे मूल महन्त चन्द्रनाथ योगीले समक्ष जानकारी गराएका थिए ।

मंगलबार मुस्लिम समुदायको पवित्र महिना रमजानुल मुबारकको अवसरमा नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ सहभागी भएकी राष्ट्रपति भण्डारी बुधवार मन्दिरमा पूजा गरेकी हुन् ।

प्रतिक्रिया