काठमाडौं । सान्तवना जितसँगै सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको यात्रा समाप्त गरेको छ । आज भएको समूहको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जित निकालेको हो । सुदूरपश्चिमको जितमा आकाश चन्दले २९ रन बनाउँदा नरेन्द्र साउद २३ तथा लोकेश बलले १३ रन बनाए ।
९० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको हो । सुदूरपश्चिमका लागि चन्दले २ चौका र २ छक्काको मद्दतमा २९ रन बनाएका थिए । नरेन्द्रले २ चौकाको मद्दतमा अविजित २३ रन बनाएका थिए ।
गण्डकी प्रदेशका लागि किशोर महतोले ३ विकेट लिए । विपिन खत्रीले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ८९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि राहुल शर्माले सर्वा्धिक ४१ रन बनाएका थिए । किशोरले १४ तथा आकाश थापाले १२ रन जोडेका थिए ।
गण्डकीका खेलाडीलाई सस्तैमा समेट्न विनोद लामाले ५ विकेट लिए । शेर मल्ल र महेश अधिकारीले २–२ विकेट लिँदा नरेन्द्र साउदको नाममा १ विकेट रह्यो । सान्त्वना जितसहित समूह ए बाट सुदूरपश्चिम र गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश बाहिरिँदा विभागीय क्लब एपिएफ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल पुलिस र आर्मीले अन्तिम चारमा स्थान बनाएका छन् ।
प्रतिक्रिया