विपीले विचार बोले, गिरिजाप्रसादले सहास बोले, भट्टराईले त्याग र इमानदारी बोले , सुशील कोइरालाले निष्ठा र इमानदार बोले, मदन भन्डारीले कम्युनिस्ट साम्यवादी चिन्तनलाई जनताको बहुदलीयतामा रूपान्तरण बोले, प्रचण्डले बन्दुक बोले । त्यस्ता बोलीहरूलाई आत्मसात गर्दै कोही अनुयायी बने, कोही भक्त बने, कोही उपासक प्रशंसक कोही अनुयायी कोही कार्यकर्ता बनेर मानव पिंढीलाई हस्तान्तरण गर्दै आएका छन्
नेपाली कांग्रेस अहिले जागरण अभियानमा जुटेको छ । काँग्रेसको यो अभियानका बारेमा सर्वसाधरण जनताले जस्तै यस पंक्तिकारले पनि जान्न बुझ्न धेरै प्रयास गर्यो, तर सारमा जागरण अभियानको औचित्य यस पंक्तिकारको समझमा आएन । जागरण अभियान कसका लागि ? किन ? कुन लक्ष्य प्राप्तिका लागि ? भन्ने कुरा यस पंक्तिकारको दिमागमभित्र असप्सटा नै छ ।
मैले नजिकै गएर हेरेँ । जागरणले वास्तविकतामा आम कार्यकर्ता र जनतामा कांग्रेसप्रति आशा र भरोसा जाग्रित गराउन सक्ने अवस्था पनि देखिन । काठमाडौंमा बस्ने नेताका वरिपरि घुम्ने तिनै कार्यकर्ताले जागरण अभियानका नाममा आआफ्नो जिल्लामा आएका नेताहरूलाई हनुमान भक्ति दर्शाउँदै , आशन र रासनको बन्दोबस्ती मिलाए । शब्दको फोहर झाडु चलाएर एउटा काँग्रेसले अर्को कांग्रेसको र एउटा गुटले अर्को गुटको सफाया गर्न थाले । त्यस्तो सफाया अभियानलाई समर्थन गर्दै जागरण अभियानमा जुटेका अन्य कार्यकर्ताले ताली बजाए । जागरण अभियानको औपचारिकता पूरा भयो ।
गुटका कार्यकर्ताले दाई जयनेपाल भन्दै चर्को स्वरमा अभिबादन गरे । नेता आफ्नो गन्तव्यमा चले , जिल्लामा कांग्रेस जाग्यो । देशमा कांग्रेस जुरमुरायो । यस्तो भ्रमबाट कांग्रेस मुक्त हुन सकेको देखिएन । कांग्रेसप्रति मेरो वैचारिक सान्निध्यता छ । पत्रकारिता मेरो पेशागत रूपमा प्रजातन्त्र र कांग्रेसप्रतिको मेरो समर्पणको इतिहास कसैले लेख्ला ,न लेख्ला तर करोडौँ नेपाली जनताका सामु उभिएर सगर्व भन्न सक्छु, मैले यो मुलुकमा इमानदारिताको पत्रकारिता गरेँ , इमानदार रहेँ । मेरो पत्रकारिताको इतिहासमा मैले जे भोगेँ , जे देखे ती सबैको अनुभवले आज भन्दै छु, ‘ यो मुलुकमा कुनै पनि दलमा नेता भएनन् । सबै दलभित्र स्वघोषित र प्राविधिकरूपका नेताहरू त छन् । ,
तर ती सबै अमानुयष रूपका छन् । यस्ता अमानुष नेतृत्वबाट मुलुक र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धधन हुन्छ भन्ने कुरामा म विस्वास गर्दिनँ ।’ त्यसैले, मैले यो मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरेको पेशागत इमानदारिताको धरातलमा उभिएर खास गरी नेपाली काँग्रेसका अमानुष नेताहरूलाई मानव सभ्यताको इतिहासतिर फर्केर हेर्न आग्रह गर्दछु ।
आदरणीय नेताज्यू !
आज तपाईंहरू मानव सभ्यताको इतिहासको जुन धरातलमा उभिनु भएको छ , यो सभ्यतालाई यहाँसम्म मानव पुर्खाले कसरी ल्यायो होला ? समग्र मान्छेलाई मानवकृत व्यवहार जडित बनाएर मानव सभ्यताको गोरेटोमा हिडाउन कसरी सम्भव भयोहोला सोच्नुस् त । मान्छे नामकरण भएको दिनदेखि नै यसका अभियन्ताहरूले मान्छेको वर्गीय चरित्र अनुरूप मानव सभ्यताको गोरेटोमा हिँडाउन आफ्नो मौलिक बोली बोले । जुन जुन अभियन्ताले आफ्नो मौलिक बोली बोले तिनै बोलीलाई हरेक मान्छेले आत्मसात गर्दै मानव सभ्यता आज यहाँसम्म आइपुगेको हो ।
अभियन्ताहरू कोही राजनैतिक कोही आर्थिक ,कोही धार्मिक कोही सामाजिक क्षेत्रमा आफ्नो मौलिक बोली बोले तिनीहरू नै मानव सभ्यताका महापुरुष कहलिए । बुद्ध बोले, मोहमद पैगम्बर बोले , श्रीकृष्ण बोले, महावीर बोले, आइन्स्टाइन बोले, कार्लमाक्स ,लेनिन , गान्धी , विपी , मदन भण्डारी, पुष्पलाल , सुशील ,गिरिजाप्रसाद , भट्टराई , राजा महेन्द्र , त्रिभुवन ,वीरेन्द्र, , जंगबहादुर वा प्रचण्ड आदि यस्तै जो मान्छे बोले ती सबैले आफ्नो मौलिक बोली बोलेका छन् ।
उदाहरणका लागि विपीले विचार बोले, गिरिजाप्रसादले सहास बोले, भट्टराईले त्याग र इमानदारी बोले , सुशील कोइरालाले निष्ठा र इमानदार बोले, मदन भन्डारीले कम्युनिस्ट साम्यवादी चिन्तनलाई जनताको बहुदलीयतामा रूपान्तरण बोले, प्रचण्डले बन्दुक बोले । त्यस्ता बोलीहरूलाई आत्मसात गर्दै कोही अनुयायी बने, कोही, भक्त बने, कोही उपासक प्रशंसक कोही अनुयायी कोही कार्यकर्ता बनेर मानव पिंढीलाई हस्तान्तरण गर्दै आएका छन् ।
दुनियाँमा जस जसले आफ्नो मौलिक बोली बोले ती सबै महान बने । संख्यात्मक हिसाबले त्यस्ता बोलीहरुका पछि के कति मान्छे लागे , वा लागेका छ्न । त्यसको कुनै अर्थ छैन । तर, त्यस्ता मौलिक बोलिलाई त्यसका अनुयायी हरुले ठिक ढंगले अगाडि बढाउन नसकेको अबस्थामा , वा त्यस्तो बोली जो आफैमा मानव सभ्यतालाई गति दिन नसकेको अबस्थामा आफै बिलिन भयर गएको मानव इतिहासमा दर्ज भएको तथ्य हाम्रो सामु छर्लंग छ ।
आफ्नो मौलिक बोली नभएका अहिलेका समग्र मान्छेहरु यो वा त्यो प्रकारले त्यस्ता बोलीहरुलाई आत्मसात गरेर नै मानव सभ्यता अगाडि बढेको तथ्यका आधारले नेपाली कांग्रेसको आफ्नो मौलिक बोली भनेको नै बिपि कोइरालाको मौलिक बोली हो । अर्थात विपी कोइरालाको विचारलाई कांग्रेस पार्टी र यससँग सम्बद्ध सबै नेता कार्यकर्ताले आत्मसात गरेर हिडेको अवस्था हो । विपी कोइरालाको जुन मौलिक बोलीलाई काँग्रेसले आत्मसात गरेर आज यहाँसम्म आइपुगेको छ त्यसका अनुयायीहरूले काँग्रेसलाई वैचारिकरूपले अगाडि बढाउन सकेका छन् कि छैनन् ? यसतर्फ गम्भीरतार्पूवक चिन्तन नगरेसम्म काँग्रेसभित्र जागरण सम्भव छैन ।
त्यसैले कांग्रेसका नेताहरूले या त विपी कोइरालाको विचारलाई सापेक्ष बनाएर अगाडि लैजाने सामथ्र्य देखाउनुस् । या त लोकतान्त्रिक गणतन्त्र भित्रको काँग्रेसको मार्गचित्र कोर्न आफ्नो मौलिक बोली बोल्नुस् ।
तपाईँहरूको बोलीभित्र आम कार्यकर्ताका लागि भविष्य छ । आश्वासन होइन, वर्तमानको आशा र अनुभूति गर्ने विषय समावेश गरेर बोल्नोस् । अन्यथा म केका लागि जाग्ने ? कांग्रेसले के का लागि कसलाई जगाउने हो ? यदी काँग्रेसको जागरण अभियानले कांग्रेस जाग्यो रे भने पनि यो मुलुकको सबै समस्या समाधान गर्न पुनः प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनेर कांग्रेस निर्वाचनमा गयो भने जनताले कति र कसरी पत्याउलान् ? किनकी देउवाले पटक पटक आफ्नो असक्षमता जनता सामु प्रदर्शन गरिसकेका छन् ।
कांग्रेस यो हातमा पुग्नुको मुख्य दोषी देउवा नै हुन् । उनी सभापति बनेपछिको तीन वर्ष तीन महिनाको कार्यकाल मूल्यांकन गरौँ त । विधानमा दुई महिनाभित्र केन्द्रीय समिति तथा विभागलाई पूर्णता दिने प्रावधान छ । तर, महाधिवेशन सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि केन्द्रीय समिति तथा केन्द्रीय विभागहरूले किन पूर्णता पाउन सकेनन् ? राज्य पुनसंरचना भएको चार वर्ष पुग्न लाग्दा समेत प्रदेश समिति , प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति , प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति , पालिका तथा वडा कार्य समितिहरू किन बन्न सकेनन् ?
महासमितिको बैठक सम्पन्न भएलगत्तै तत्काल पार्टीका संगठनहरूलाई पूर्णता दिने भनिएको थियो, तर, चार महिना बितिसक्यो , नेतृत्व के हेरेर बसेको छ ? नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा आएको डेढ वर्ष पुगेपछिमात्रै छायाँ सरकार बन्यो , त्यो पनि ४८सदस्यीय । नेपाली काँग्रेसका सांसदहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न किन सकेनन् ? भन्ने प्रश्नको उत्तरभित्र पनि देउवाकै असक्षमता जोडिएको छ । त्यसैले, जनता र कार्यकर्ताले हृदयदेखि पत्याउने अभियान नल्याउँदासम्म र सक्षम नेता नहुँदासम्म कांग्रेसमा जागरण सम्भव छैन ।
(शर्मा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष हुन्)
प्रतिक्रिया