यार्सा पाटनमा सुरक्षा टोली परिचालन

दार्चुला । दार्चुला जिल्लाका यार्सा पाटनमा अनुगमनका लागि सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो सातादेखि यार्सा संकलनका लागि खुला गरिएका जिल्लाका यार्सा पाटनहरूमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली यार्सा पाटनमा खटिएका छन् ।

यार्सा पाटनमा प्रवेश गरेको यार्सा संकलनहरूले परिचयपत्र लिए नलिएको बारे अनुगमन गर्न टोली परिचालन गरिएकोे अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए । अनुगमनसँगै यार्सा पाटनमा चोरी, डकैती लगायतका विभिन्न अपराधिक गतिविधिहरू समेत हुने गरेकाले संरक्षण क्षेत्रको आग्रहमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली यार्सा पाटनामा खटाइएको हो ।

अपीहिमाल गाउँपालिकाको घुसा क्षेत्रका यार्सा पाटनमा सूचना अधिकारी राजु घिमिरेको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको छ । यस्तै व्याँस क्षेत्रका यार्सा पाटनमा अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेञ्जर मनोज अवस्थीको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यस्तै खण्डेश्वरी र सितोलाको चाइमेटला लगायतका वन क्षेत्रका लागि १०-१० जना नेपाल प्रहरीको टोली परिचालन गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षदेखि यार्सा पाटनमा जानेहरूका लागि दुर्घटना बिमाको पनि सुविधा गरिएको सूचना अधिकारी घिमिरेले बताएका छन् । यार्सा पाटन परिचय पत्रसहित गएका यार्सा संकलक, पाटनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, परिषद् व्यवस्थापन समिति पदाधिकारी तथा एक जना पत्रकार गरी जम्मा २० जनासम्मको दुर्घटना बिमाको सुविधा गरिएको छ । प्रतिव्यक्ति १० लाखका दरले दुर्घटना बिमा सुविधा उपलब्ध गराइएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी घिमिरेको भनाइ छ ।

प्रतिक्रिया