काठमाडौं । साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा सोमबार भएको खेलमा यसअघिको तीनै संस्करणको च्याम्पियन आर्मीले प्रदेश १ माथि ३–० को सहज जित निकाल्दै समूह ‘क’ मा लगातार दोस्रो जित दर्ता गरेको हो । आर्मीले यसअघि सुदूरमाथि ३–० को सहज जित निकालेको थियो ।
एकपक्षीय खेलमा आर्मीले प्रदेश १ माथि २५–२०, २५–१२ र २५–१७ को सहज जित निकाल्यो । सोमबारै भएको अर्काे खेलमा गण्डकी प्रदेशले प्रदेश ३ माथि ३–० को जित निकाल्दै समूह ‘ख’ मा लागतार दोस्रो जित निकाल्यो । गण्डकीले प्रदेश ३ माथि २ प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा २६–२४ को जित निकाले पनि त्यसपछिको दुवै सेटमा २५–१४ र २५–१४ को सहज जित निकाल्यो । समूह ‘क’ मा विभागीय नेपाल एपीएफ क्लबले प्रदेश २ माथि ३–० को सहज सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । एपिएफले प्रदेश २ माथि २५–१९, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । समूह ‘ख’ मा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २५–१५, २५–२१ र २५–१५ को सहज जित निकाल्दै विजयी सुरुवात गर्यो ।
लिगमा मंगलबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा आर्मी र प्रदेश २, गण्डकी र कर्णाली प्रदेश, सुदूरपश्मि र एपीएफ तथा प्रदेश ५ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । २६ जेठसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया