पहिलो गोदावरी राजधानी कप २०७६

धनगढी । अत्तरियामा सुरु भएको गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन धनगढीको फारवेस्ट पशुपति युवा क्लब विजयी भएको छ । शनिबारदेखि तेघरीस्थित वनदेवी युवा क्लबको मैदानमा भइरहेको प्रतियोगिताको दोस्रो दिनको खेलमा फारवेस्ट पशुपति युवा क्लबले अत्तरियाको माउन्ट एभरेस्ट युवा क्लबलाई २–० ले पराजित गरेको हो ।

फारवेस्टको जितमा रोशन खत्री र भिष्म भाटले एक एक गरे । खत्रीले पहिलो हाफको ११औँ मिनेटमा गोल गरे भने भिष्म भाटले दोस्रो हाफको ८२औँ मिनेटमा गोल गरे । यो जितसँगै फारवेस्ट पशुपति युवा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि पहिलो चरणमा वाई पाएको वनदेवी युवा क्लबसँग फारवेस्टले प्रतिस्पर्धा गर्नेछ ।  प्रतियोगिताअन्तर्गत सोमबार सुदुरपश्चिम–११ स्पोर्टस क्लब र मनकामना युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगदसहित पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया